काठमाडौं । दुई कम्पनीले एकैपटक प्राथमिक साधारण सेयर (आईपीओ) जारी गर्ने भएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावर कम्पनी दुबैले आगामी असार १ गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेका हुन् ।
जसमध्ये आदर्श लघुवित्त ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ ।
उक्त आईपीओमा आवेदन दिन इच्छुकले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले जानकारी गराएको छ । त्यस्तै, उनीहरुले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको एप मार्फत आवेदन दिन सक्नेछन् ।
हाल लघुवित्तको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँड पछि संस्थाको चुक्ता पुँजी २ करोड नाघ्ने छ ।
त्यस्तै, लघुवित्तले सेयर निष्काशनको लागि केयर रेटिङ्गस नेपालबाट केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ्ग पाएको छ ।
मन्दाकिनीको आईपीओ स्थानियलाई
मन्दाकिनी हाइड्रोले असार १ गतेदेखि ५ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर जारी गर्दै छ । हाइड्रोले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि सो मात्राको आईपीओ जारी लागेको हो ।
कम्पनीले जारी पुँजी ५८ करोड ८० लाखको १० प्रतिशत अर्थात ५ लाख ८८ हजार ०३७ कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यी क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्न छन् । उनीहरुले छिटोमा असार १५ गतेभित्रमा आवेदन दिइसक्नु पर्ने छ । यदि माग बमोजिमको आवेदन नपरेको खण्डमा भने इच्छुकले ढिलोमा असार ३० गतेसम्म आवेदन दिन पाउने सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले जानकारी गराएको छ ।
मन्दाकिनीको आईपीओमा सोही हाइड्रोको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
त्यस्तै, केयर रेटिङ्ग नेपालले हाइड्रोलाई सेयर निष्काशनको लागि केयरएनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ ।