असोजभित्र चार काम सक्ने बोर्डको योजना, बुक क्लोजमा उचित व्यवस्था हुने

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी चार महिना भित्रमा विभिन्न चार वटा काम सक्ने लक्ष्य लिएको छ । संस्थाको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष रमेश हमालले आगामी चार महिना अर्थात असारदेखि असोजसम्ममा सेयर बजारको विकासको लागि विभिन्न ४ वटा काम गर्ने योजना रहेको बताएका हुन् । उनका अनुसार बोर्डले नेपाल स्टक एक्स्चेञ्जमा एसएमई प्लेटफर्म सञ्चालन [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी चार महिना भित्रमा विभिन्न चार वटा काम सक्ने लक्ष्य लिएको छ । संस्थाको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष रमेश हमालले आगामी चार महिना अर्थात असारदेखि असोजसम्ममा सेयर बजारको विकासको लागि विभिन्न ४ वटा काम गर्ने योजना रहेको बताएका हुन् ।

उनका अनुसार बोर्डले नेपाल स्टक एक्स्चेञ्जमा एसएमई प्लेटफर्म सञ्चालन गराउने, वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत आरक्षण लागू गरिने, साथै गैरआवसीय नेपालीहरुलाई धितोपत्र बजारमा लगानी गर्न मिल्ने व्यवस्था मिलाइने छ । त्यस्तै, यो अवधिमा देशभर वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने अध्यक्ष हमालले बताए ।

कार्यक्रममा बोल्दै उनले लगानीकर्ताहरुले भोगिरहेका समस्याप्रति बोर्ड जानकार भएको बताउँदै उनले त्यसको समाधानको लागि प्रतिवद्धता रहेको बताए । मार्जिन प्रकृतिको सेयर धितो कर्जाको लागि तय गरिएको नीतिगत व्यवस्थाको उचित मूल्यांकन गरी सोलाई पुनरावलोकन गर्न उचित निकास दिने समेत उनले बताए ।

साथै, अध्यक्ष हमालले मर्जर तथा एक्विजिशनमा हुँदै आएको बुक क्लोजको व्यवस्थालाई परिमार्जन गर्न सकिने बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिशनमा लामो समयसम्म लगानीकर्ताको सेयर बन्धक भएको विषयमा बोर्ड र नेपाल राष्ट्र बैंकबीच सकारात्मक छलफल भएको जानकारी गराएका छन् ।

‘अब यस्ता अन्योल अवस्था रहन नदिन उचित व्यवस्था गर्ने प्रकृया अघि बढाउन ठोस पहल भइरहेको छ, र, यसको छिट्टै उचित निकासा निस्किने अपेक्षा गर्न सकिन्छ’, अध्यक्ष हमालले भने ।

धितोपत्र बजारमा देखिएका समस्या न्यूनिकरण गर्नको लागि वित्तीय संस्थाका सबै नियामक निकायहरु एकै ठाउँमा उभ्भिएर समस्या समाधान गर्न बोर्डले प्रभावकारी समन्वय गर्न आवश्यक देखिन्छ ।

लगानीकर्ताको हित संरक्षणको लागि अटोमेटेड सर्भिलेन्सेस् सिष्टम विकास गरी उपयुक्त जनशक्तिको व्यवस्था गरिने समेत उनले बताए ।

कोेभिडको महामारीपश्चात निरन्तर वृद्धि भएको नेप्से परिसूचक अहिले निरन्तर घटीरहेको छ । पछिल्लो समय श्रृजित अन्तर्राष्ट्रिय द्वन्द्व, पेट्रोलियम मूल्यमा भएको भारी वृद्धि लगायत मुलुकभित्र देखा परेको तरलताको समस्या लगायत व्याजदरको उच्च वृद्धिले गर्दा परिसूचक घटेको अध्यक्ष हमालको भनाई छ ।

Share News