काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले घटेको छ । अघिल्लो साता १४५.०८ अंकले घटेको नेप्से परिसूचक यो साता ३०.५४ अंकले घटेको हो ।
गत साताको अन्तिम कारोबारका दिन अर्थात शुक्रवार २०७८.७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रवारसम्म ३०.५४ अंकले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । साताको पाँच दिन भएको सेयर कारोबारमा चार दिन नेप्से गिरावट हुँदा एक दिन भने वृद्धि भएको थियो ।
पछिल्लो समय सेयर बजार लामो समयदेखि निरन्तर रुपमा घटिरहेको छ । बजारमा आएको निरन्तर गिरावटका कारण १० महिनाअघि ३२ अंक नजिक पुगेको नेप्से इन्डेक्स करिब ११५०.६७ अंकले घटेर २०४८.१६ अंकको बिन्दुमा झरेको हो । यो अवधिमा सेयर बजारमा १५ खर्ब बढी नोक्सान भएको लगानीकर्ताहरु बताउँछन् ।
चालु आर्थिक वर्षको शुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानी योग्य रकम (तरलता) को अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले सेयर धितो कर्जामा लगाएको ४/१२ करोडको नीतिका कारण सेयर बजार घट्दै गएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि समेत बजार सुधार हुन सकेको छैन ।
साताको पहिलो कारोबारको दिन सोमवार नेप्से सूचकमा १२.८९ अंकले घटेर २०६५.८२ बिन्दुमा झरेको थियो । सोमवार कारोबार भएको २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयरमार्फत् १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, साताको दोस्रो कारोबार दिन अर्थात मंगलवार नेप्से परिसूचक ४५.५९ अंक घटेर २०२०.२३ बिन्दुमा झरेको थियो । मंगलवार कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । तर, बुधवार भन सेयर बजार बढेको थियो ।
बुधबार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको थियो । बुधवार कारोबारमा आएका २३१ कम्पनीको ५० लाख ५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । बुधवार नेप्सेसँगै कारोबार रकममा समेत सुधार भएको थियो ।
बिहीवारदेखि बजार बढ्ने आंकलन गरिएपनि एकदिन पनि टिक्न नपाई बिहीवार नेप्से परिसूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झ¥यो । बिहीवार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार कारोबार रकममा गिरावट आएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ । शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम पनि घटेको हो ।
त्यस्तै, नेप्से परिसूचकमा ३० अंकभन्दा बढीले गिरावट आउँदा सातामा नेप्सेको कुल बजार पुँजीकरण ४१ अर्बभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २९ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब १७ अर्ब रुपैयाँमा सिमित भएको छ