काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक २ हजार बिन्दुबाट तल झरको छ । मंगलबार कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेकोे परिसूचक ३६.०७ अंकले घटेर १९९६.२६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.७८ प्रतिशतले घटी हो भने १८ महिनायताकै न्यून बिन्दु हो । दिनभरको कारोबारमा परिसूचक घटेर १९९०.६९ बिन्दुसम्म झरेको थियो ।
सोमबारको तुलनामा मंगलबारको कारोबार रकममा भने वृद्धि भएको छ । सोमबार ९९ करोड ८६ लाख रुपैयाँमा खुम्चिएको सेयर कारोबार मंगलबार एक अर्ब माथिको सेयर किनबेच भएको छ । दिनभरको कारोबारमा १ अर्ब १८ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर खरिद बिक्री भएको हो ।
२३२ वटा स्क्रिप्सको किनबेच भएको बजारमा शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । सिमेन्टको एकैदिन ४ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य घटेर प्रतिकित्ता ६९८ रुपैयाँमा झरेको छ ।
त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९९ प्रतिशतले झरेर प्रतिकित्ता ३४४.३० रुपैयाँमा झरेको छ ।
घटेको बजारमा पनि आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१८ प्रतिशतले बढेर प्रतिकित्ता ४४८.४० रुपैयाँमा पुगेको छ ।