सेयर बजारमा देखियो हरियो, कारोबारको शीर्ष स्थानमा एनटीसीसहित अधिकांश वाणिज्य बैंक

<p>काठमाडौं । लामो समयपछि सेयर बजारमा हरियो देखिएको छ । पछिल्लो समय राताम्मे देखिने गरेको सेयर बजार बिहीबार भने दोहोरो अंकले बढेर हरियो भएको छ । दिनभरको कारोबारमा सेयर मूल्य मापक नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६४ प्रतिशतले बढी हो । परिसूचकमा सुधार देखिएको बजारमा कारोबार [&hellip;]</p>

काठमाडौं । लामो समयपछि सेयर बजारमा हरियो देखिएको छ । पछिल्लो समय राताम्मे देखिने गरेको सेयर बजार बिहीबार भने दोहोरो अंकले बढेर हरियो भएको छ ।

दिनभरको कारोबारमा सेयर मूल्य मापक नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६४ प्रतिशतले बढी हो ।

परिसूचकमा सुधार देखिएको बजारमा कारोबार रकम भने घटेको छ । बुधबार १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा बिहीबार भने १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।

२२१ वटा स्क्रिप्स कारोबारमा आएको बिहीबारको बजारमा कूल ३५ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी कारोबार गर्नेको शीर्षस्थानमा वाणिज्य बैंक रहेका छन् । शीर्ष ५ स्थानमा नेपाल दूरसञ्चार कम्पनीसहित बाँकी ४ वटै वाणिज्य बैंक रहेका छन् ।

एनटीसीको एकैदिन १३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सर्वाधिक कारोबार गर्नेको दोश्रोमा रहेको एनसीसी बैंकको कूल १० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नबिल बैंकसँग गाभिने हल्लासँगै बैंकको बढी सेयर कारोबार भएको बुझिन्छ ।

त्यस्तै, बढी कारोबार गर्नेको तेश्रोमा सिभिल, चौथोमा एनआईसी एशिया र पाँचौंमा नबिल बैंक रहेको छ । सिभिल बैंकको ४ करोड ७१ लाख, एनआईसी एशियाको ३ करोड ५७ लाख र नबिलको २ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बढी कारोबारको शीर्ष स्थानमा रहेका ५ कम्पनीमा अधिकांशको सेयर मूल्य बढेको छ । जसमा एनटीसीको सेयर मूल्य ३० रुपैयाँले बढेर प्रतिकित्ता ८९५, एनसीसीको १३.९० रुपैयाँले बढेर प्रतिकित्ता २२२.९० र सिभिलको ७.१० रुपैयाँले बढेर प्रतिकित्ता २०९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

एनआईसी एशियाको सेयर मूल्य ६.६० रुपैयाँले घटेर प्रतिकित्ता ६९७.४० रुपैयाँमा झरेको छ । नबिल बैंकको भने प्रतिकित्ता ८२५ रुपैयाँमा सेयर किनबेच भएको छ ।

त्यस्तै, दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको १०, रिभर फल्स पावरको ९.९७ र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर क्रमशः ५४२.५०, २९०.२० र १४९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य घटेको छ । जसको सेयर मूल्य ३.८० प्रतिशतले घटेर प्रतिकित्ता ४०५ रुपैयाँमा झरेको छ ।

पछिल्लो समय राताम्मे देखिएका समूह सूचकहरु बिहीबार भने अधिकांश हरिया देखिएका छन् । इन्भेष्टमेन्ट र जीवन बीमा सामान्य अंकले घटेका छन् भने बाँकी समूह हरिया देखिएका छन् ।

Share News