काठमाडौं । नबिल बैंकसँग मर्ज हुने हल्ला चलेसँगै नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको सेयरको भाउ बढ्न थालेको छ । लगानीकर्ता पनि यसै बैंककाे सेयरमा झुम्मिएका छन् । बिहीबार वाणिज्य बैंकमध्येकै सबैभन्दा बढी एनसीसी बैंकको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको एकैदिन ४ लाख ६९ हजार ९८३ कित्ता सेयर १० करोड ३५ लाख रुपैयाँमा किनबेच भएको छ ।
यो साता समग्रमा नेप्से परिसूचक घटिरहे पनि एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता २० रुपैयाँले बढेको छ । बिहीबार मात्र यस बैंकको सेयर मूल्य प्रतिकित्ता १४ रुपैयाँले बढेर २२२ रुपैयाँमा कारोबार बन्द भयो । जसको सेयर मध्यान्नमा प्रतिकित्ता २२७ रूपैयाँसम्ममा काराेबार भएकाे थियाे । केही दिनअघि यस बैंकको सेयर प्रतिकित्ता २०२ रुपैयाँसम्ममा झरेकाे थियाे ।
एक वर्षअघिदेखि नै नबिल र एनसीसी बैंकबीच मर्जरबारे समाचार बन्दै आएका छन् । तर एनसीसी बैंकका सञ्चालक एवं मर्जर कमिटिका एक सदस्यले भने मर्जरको विषयमा पछिल्लो समय छलफल नभएको बताए ।
‘पहिला एक चरणमा एनसीसी र नबिलबीच मर्जको विषयमा धेरै प्रगति भएको थियो, अन्तिममा कुरो बिग्रिएको हो’ उनले भने- ‘अहिले त कुराकानी भएको मेरो जानकारीमा छैन’ ती सञ्चालकले भने ।
नबिलमा नेपाल बंगलादेश बैंक विलय हुँदैछ । नियम अनुसार त एउटासँगको मर्ज प्रक्रिया पुरा नभई अर्को मर्जर प्रक्रिया थाल्न मिल्दैन । तर यसअघि दुई बैंक तथा वित्तीय संस्था मर्जर चल्दै गर्दा तेस्रो सस्थासँग पनि मर्जर सम्झौता भएको र त्यसमा राष्ट्र बैंकले आँखा चिम्लिएको घट्ना धेरै छन् ।
राष्ट्र बैंकले असार मसान्तसम्म मर्जरमा नजानेलाई साउनदेखि मर्जर सम्बन्धि छुट सुविधा नहुने जनाएपछि पछिल्लो समय धेरै बैंकहरु भटाभट मर्जरमा जाँदैछन् ।
सम्बन्धित समाचार