काठमाडौं । सेयर बजारमा मूल्य घट्ने क्रम जारी रहेको बेलामा एक बाणिज्य बैंकको सेयर लिलामीमा आएको छ । प्रतिकित्ता १२४ रुपैयाँका दरले झण्डै एक लाख कित्ता सेयर लिलामीमा राखिएको छ ।
सेन्चुरी कमर्शियल बैंकको ९३ हजार ६७४ कित्ता सेयर लिलामीमा आएको हो । त्यसमा ८९ हजार ४५६ कित्ता संस्थापक र ४ हजार २१८ कित्ता साधारण सेयर रहेको छ ।
सबै सेयरको मूल्य १ करोड १६ लाख २० हजार ५०० रुपैयाँ तोकिएको छ । जसमा प्रतिकित्ता सेयर मूल्य १२४ रुपैयाँ ५ पैसा पर्छ । आइतबार यस बैंकको साधारण सेयर प्रतिकित्ता १९१ रुपैयाँमा कारोबार भैएकाे थियाे ।
व्यवसायी सुरज शाक्यले नेपाल फाइनान्सको कर्जा तिर्न नसकेपछि धितोमा रहेको सेयर लिलामीमा आएको हो । शाक्यले ललित मण्डप ट्राफल्स एण्ड टुर्स प्रालिको नाममा तत्कालिन ललितपुर फाइनान्सबाट कर्जा लिएका थिए ।
उक्त कर्जा लामाे समय विवादमा परेकाे थियाे । विवाद ऋण असुली न्यायधिकरणामा पुगेकाे थियाे । न्यायधिसले गरेकाे फैसला अनुसार सेयर लिलामीको सूचना ऋण असुली न्यायाधिकरणले प्रकाशित गरेको छ ।