नेपालको बीमाको बजार सबैभन्दा बढी अविश्वसनीय छ । बीमाको व्यवसाय गरिसकेपछि हामीले बीमितको दीर्घकालिन अवधिको एस्योरेन्स लिइरहेका छौं । तर हामी कता कता हराइरहेका छौं हामीलाई थाहाँ छैन । र, समस्या जब देखिन्छ तब कुनै घटना हुन्छ । बजारमा हामीले बीमितहरुबाट आएका दावी भुक्तानीको विभिन्न केशहरु हेर्यौं । जहाँ अधिकांश दोष कम्पनीको छ । अभिकर्ताको होइन । हामी (समिति) ले अभिकर्ता खटाउने होइन । कम्पनीहरुले सिफारिस गरेकोमा हामीले लाइसेन्स दिने हो । त्यसैले अभिकर्ताको जिम्मा कम्पनीले लिनु पर्छ । समितिले होइन ।
एउटा (कुनै कम्पनीको) केश । यहाँ कसको दोस हो ? एक जना बीमितले २० लाख रुपैयाँको बीमा गरेको रहेछ । जसले प्रथम किस्ता तिरेको रहेछ । अचानक उसको मृत्यु भयो । जुन गाडि दुर्घटनाबाट भयो भनिएको थियो । तर उसको टेष्टहरुको रिपोर्ट हेर्दा किड्नीमा समस्या छ भनेर देखियो । त्यसपछि मान्छेले दावी गर्यो । जसमा हामीले शंका गर्नु जायज छ । कम्पनीले शंका गर्न जायज छ ।
तर कम्पनीले शंका गरेर मात्रै पुगेन । कम्पनीबाट हुने फाइनान्सियल अन्डरराइटिङ, मेडिकल अन्डरराइटिङको बारेमा को गम्भीरता हुने । मैले बुझ्या छैन । यसको पेनाल्टीको बारेमा पढ्दै नपढेको जान्दै नजानेको मान्छेसँग गर्ने ?
बिजनेश ल्याउनको लागि हामी जस्तोसुकै अप एण्ड डाउन पनि गर्ने । यति नाफा भयो यति प्रगति भयो भनेर देखाउने । तर दावी भुक्तानी गर्ने बेलामा चुप बस्ने ? अनि अन्तिममा समितिले कम्पनीका सीईओ, अध्यक्ष, लगानी समितिका अध्यक्ष सबैलाई बोलाएर दावी किन नतिरेको, तिर्नुपर्यो भन्ने अवस्था बनाउने ?
यो वर्षलाई बीमा दाबी भुक्तानी वर्षको रुपमा मनाउनुको कारण पनि के भने बीमाले आफ्नो विश्वसनीयता गुमाउँदै गयो । जुन विश्वासको साथ मान्छेले बीमा गरेका रहेछन्, उनीहरु सबैको एउटै गुनासो छ, तपाईंहरु क्लेम तिर्नुहुँदैन भन्ने मात्रै सुनिन्छ । त्यसकारण हामी यहाँबाट माथि उठ्नुपर्यो । क्लेमलाई प्राथमिकतामा राख्नुपर्यो । हाम्रो अन्डरराइटिङ विश्वासिलो हुनुपर्यो । बिजनेसको लागि जे पनि गर्ने तर बिजनेस लिइसकेपछिको जिम्मेवारीबाट पन्छिन खोज्ने ? रिक्स लिन्छु भनेर ग्यारेन्टीको साथ बिजनेस ल्याइएको छ, तर त्यो पाटोमा कम्पनीको इमान्दारिता देखिएन । आफुले ल्याएको बिजनेस ठीक छ की छैन भनेर हेर्ने अन्डरराइटिङ डिपाटमेन्ट होला, छुट्टै शाखा होला, कहाँबाट चिप्लीरहेको छ ?
भिडियो: बीमाले बैंक चलाउने हो बैंकले बीमा चलाउने होइन – अध्यक्ष सिलवाल
कम्पनीहरुको यहि व्यवहारले गर्दा बीमा क्षेत्रकै बदनाम भएको छ । तर अब यसलाई परिवर्तन गर्नु पर्यो । मान्छेमा यो कम्पनीले क्लेम तिर्छ है, रिटर्न समयमै दिन्छ है भन्ने खालको जानकारी नगराउँदासम्म कम्पनीले केही गर्न सक्दैन । हामीले यदि बिजनेस नै गर्ने हो भने साच्चिकै बिजनेस गरौं । मैले सँधै भन्दै आएको छ, आउने ७ वर्षमा बीमाले बैंकलाई उछिन्छ । तर हामीले यहि किसिमको व्यवहार गर्दै गयौं भने कसले बीमा गर्ने, किन बीमा गर्ने ? त्यो पाटाहरु महत्वपूर्ण छन् ।
हामी कहाँ पुगिरहेका छौं । हामीले हाम्रो पोलिसीको ड्राफ्ट दिनु पर्यो । पोलिसी जहिल्यै पनि अंग्रेजीमा लेखेको, ५ पानाको, अक्षर नदेखिने हुनुभएन । जे लेख्नुपर्ने छ, त्यो मात्रै लेख्नुस् । मान्छे झुक्याउने खालको नराख्नुस् ।
अन्त्यमा, बीमा भनेको देशको फाइनान्सियल सेक्टरको अभिन्न अंग हो । यसलाई अघि नबढाए देश अघि बढ्न सक्दैन । यसको लागि कम्पनीहरुले गरिबी अर्थात विपन्न वर्गहरुको बीमा गर्नुपर्यो । प्रदेश स्तरमा गएर आफ्नो बीमा बजारको दायरा बढाउनु पर्यो । मलाई लाग्छ अब आउने वर्षमा केही सहज पक्कै हुन्छ ।
(बीमा समितिका अध्यक्ष सिलवालले सोमबार एक कार्यक्रममा राखेका मन्तव्यको केही अंश)