काठमाडौं । लामो समय पछि सेयर बजारमा सुधार देखिएको छ । बजार सुधारको लागि नेपाल धितोपत्र बोर्ड र सेयर बजारका लगानीकर्ताबीच १२ बुँदे सहमति भएसँगै त्यसको प्रभाव दोश्रो बजारमा परेको हो ।
लगानीकर्ता र बोर्डबीच गत शुक्रबार सहमति भएको थियो । त्यसपछि सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको थियो । आज आइतबारको बजारमा पनि बजार कारोबार शुरु भएदेखि उकालो लागिरहेको छ । र, कारोबार शुरु भएको करिब ३ घण्टामै परिसूचक ८१.६१ बिन्दुले बढेको छ ।
दिउँसो १ बजेर ४८ मिनेट जाँदा परिसूचक ८१.६१ बिन्दुले बढेर १९४३.६६ बिन्दुमा पुगेको छ । जुन गत शुक्रबारको तुलनामा ४.३८ प्रतिशतले बढी हो ।
यो समाचार तयार पार्दासम्म बजारमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । हकप्रद सेयर जारी गर्न अनुमति पाएसँगै कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भइरहेको छ । कम्पनीको तीन घण्टामै ६ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ ।
त्यस्तै, नागरिक लगानी कोष (सीआईटी) र ङादीसहित विभिन्न कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भइरहेको छ । र, बढ्दो बजारमा गुमाउने कुनै पनि कम्पनी देखिएका छैनन् ।