काठमाडौं । आइतबारको सेयर बजार इन्ट्रा-डेको उच्च बिन्दुमा पुगेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ बिन्दुमा पुगेको छ । जुन दिनभरीको कारोबारको उच्चतम बिन्दु हो भने पछिल्लो कारोबारको तुलनामा ५.१० प्रतिशतले बढी हो ।
कारोबारको शुरुवातीदेखि उकालो यात्रामा रहेको बजारले अन्त्यसम्म पनि निरन्तर उकालोको यात्रा पार गरेको छ । ४ घण्टाको कारोबारमा परिसूचक न्यूनतम १८६३.४३ देखि अधिकतम १९५७ बिन्दुको बीचमा रह्यो ।
त्यस्तै, बजारमा २ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत बैशाख यताकै उच्च छ । बैशाख २९ गतेको बजारमा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसपछि भने सो मात्राको सेयर किनबेच भएको थिएन ।
बजारमा सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बैंकको सेयर मूल्य पनि बढेर प्रतिकित्ता २०३ रुपैयाँ पुगेको छ ।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । दिनभरको कारोबारमा २१ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य ९.९५ देखि ९.९९ प्रतिशतले बढेको छ ।
लामो समय पछि सेयर बजारमा सुधार देखिएको छ । बजार सुधारको लागि नेपाल धितोपत्र बोर्ड र सेयर बजारका लगानीकर्ताबीच १२ बुँदे सहमति भएसँगै त्यसको प्रभाव दोश्रो बजारमा परेको देखिन्छ ।
लगानीकर्ता र बोर्डबीच गत शुक्रबार सहमति भएको थियो । त्यसपछि त्यो दिनको सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको थियो । आज आइतबारको बजारमा पनि बजार कारोबार शुरु भएदेखि अन्त्यसम्म निरन्तर उकालो लागेर बजार बन्द भयो ।