काठमाडौं । आइतबार उच्च अंकले उकालो लागेको नेप्से सोमबार दोहोरो अंकले घटेको छ । सोमबारको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२२ प्रतिशतले घटी हो ।
करेक्सन देखिएको बजारमा कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्ब १९ करोडको सेयर कारोबार भएको बजारमा सोमबार २ अर्ब रुपैयाँमा सीमित भएको छ ।
सोमबार सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर कारोबार भएको छ । कोषको एकैदिन १५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता २५४२ रुपैयाँ पुगेको छ ।
घटेको बजारमा पनि दुई लघुवित्तको सेयर सर्किट लेभलमा कारोबार भएको छ भने एक इन्स्योरेन्सको ९ प्रतिशतभन्दा बढीले बढेको छ । सीवाईसीएल नेपाल लघुवित्त वित्तीय संस्था र न्यादी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ९.९९ र ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को सेयर मूल्य ९.१५ प्रतिशतले बढेर प्रतिकित्ता १४१९ रुपैयाँ पुगेको छ ।
बजारमा उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले घटेर प्रतिकित्ता ८९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
बजारमा इन्भेष्टमेन्ट र जीवन बीमा बाहेक सबै समूह राताम्मे देखिएका छन् । इन्भेष्टमेन्ट र जीवन बीमा समूह क्रमशः ०.६४ र ११३.९६ अंकले बढेका छन् ।