काठमाडौं । धितोपत्र बोर्डको योग्य संस्थागत लगानीकर्ताको सूचीमा थप ६ वटा कम्पनी थपिएका छन् । बोर्डले समृद्धि फाइनान्स कम्पनीसहित थप ६ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो ।
बोर्डले हालै गौरब नेपाल इन्भेष्टमेन्ट, समृद्धि फाइनान्स कम्पनी, नबिल ब्यालेन्स्ड फण्ड ३, कामना सेवा विकास बैंक, पशुपति भेन्चर क्यापिटल र सिद्धार्थ व्यवस्थित लगानी योजनालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ ।
यसअघि योग्य संस्थागत लगानीकर्ताको सूचीमा १०० वटा संस्था थिए । अब उक्त संख्या बढेर १०६ पुगेको छ ।
योग्य संस्थागत लगानीकर्ता भनेको के हो ?
बोर्डले बुक विल्डिङ विधिबाट सार्वजनिक निष्कासन (आईपीओ) गर्ने कम्पनीको मूल्य तय गर्नको लागि योग्य संस्थागत लगानीकर्ताबाट आशय मूल्य लिनुपर्छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्नको लागि सो आईपीओको मूल्य तय गर्न संस्थागत लगानीकर्ताको भूमिका रहन्छ ।