काठमाडौं । बुधबारको सेयर बजारमा हरियाली छाएको छ । कारोबार खुलेदेखि उकालो लागेको नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१५ प्रतिशतले बढी हो ।
बजारमा परिसूचकमात्रै नभई कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार १ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
कूल २२८ वटा स्क्रिप्स कारोबार भएको बजारमा ङादी ग्रुपको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य १२ रुपैयाँले बढेर प्रतिकित्ता ५४० रुपेयाँ पुगेको छ ।
त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा रहेको एशियन लाइफको ५ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार कम्पनीको पनि सेयर मूल्य २०.५० रुपैयाँले बढेर प्रतिकित्ता ५९७.५० रुपैयाँ पुगेको छ ।
बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये निर्जीवन बीमा समूह १९४.६६ अंकले बढेको छ । त्यस्तै, म्युचुअल फण्ड समूह सबैभन्दा कम अर्थात ०.३९ अंकले बढेको छ ।
बुधबार दुई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर क्रमशः १०१०.९० र ९५८.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
बुधबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा कम अर्थात १.९१ प्रतिशतले घटेर प्रतिकित्ता ४११ रुपैयाँमा कारोबार भएको छ ।