काठमाडौं । सेयर बजार दुई दिनदेखि लगातार बढेको छ । बिहीबारको बजारमा पनि नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ बिन्दुमा पुगेको छ । जुन ‘इन्ट्रा डे’ कै उच्चतम बिन्दु हो भने बुधबारको तुलनामा ३.८२ प्रतिशतले बढी हो ।
त्यस्तै, बजारमा कारोबार रकम पनि बढेको छ । बजारमा २ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बैशाखयताकै उच्च कारोबार हो । बैशाख ११ गतेको बजारमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयता सो मात्राको सेयर कारोबार भएको थिएन ।
बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य ६९ रुपैयाँले बढेर प्रतिकित्ता ७७४ रुपैयाँ पुगेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा हिमालयन डिष्टिलरी छ । दिनभरमा कम्पनीको ७ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार खुलेदेखि उकालो लागेको बजारमा ११ कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । नेपाल फाइनान्स, मैलुङ्ग खोला जलविद्युत्, न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आँधिखोला लघुवित्त वित्तीय संस्था, सीवाईसीएल लघुवित्त र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८७, शिवम् सिमेन्टस्को ९.७९, रिलायन्स फाइनान्सको ९.६३, नेपाल पुनर्बीमा कम्पनीको ९.५० प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ९.५४ प्रतिशतले बढेको छ ।
बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ३७८.२० अंकले बढेको छ भने सबैभन्दा कम बढ्नेमा म्युचुअल फण्ड ०.३८ ले बढेको छ ।