काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले ट्रेड म्यानेजमेन्ट सिष्टम (टीएमएस) मा भएको एओएन (अल अर नन्) सुविधा हटाउने भएको छ । खरिद तथा बिक्रीकर्ताले अर्डर गरेअनुसार सबै कित्ता एकैपटक किन्न वा बेच्न पाए किनबेच गर्न मिल्ने व्यवस्था रहेको उक्त एओएन सुविधा नेप्सेले पूर्ण रुपमा हटाउने भएको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सेयर बजार सञ्चालक नेप्सेले असार १९ गतेबाट खरिद आदेशतर्फको उक्त सुविधा हटाउने भएको हो ।
यसअघि खरिदतर्फको मात्रै एओएन सुविधा हटाएको नेप्सेले अहिले भने बिक्री तर्फको पनि हटाएको हो । खरिदतर्फको एओएन सुविधा भने २०७८ जेठ ३० गतेदेखि हटेको थियो ।
पछिल्लो समय आन्दोलनकारी लगानीकर्ताहरुले एओएन हटाउन माग गरेअनुसार नै बोर्डले उक्त सुविधा हटाउन निर्देशन दिएको हो । तर, केही लगानीकर्ताहरु भने यो सुविधा हट्नु दुःखद रहेको बताउँछन् । यो सुविधा हटेसँगै लागत बढी पर्न जाने भएकाले यो दुःखद पूर्ण निर्णय रहेको उनीहरुको भनाई छ ।
के हो एओएन ?
टीएमएसमा खरिदकर्ता वा विक्रीकर्तालाई आफूले खरिद गर्न चाहेको मूल्यमा चाहेको संख्या बराबरको सेयर पाएपछि मात्रै खरिद वा विक्री गर्न पाइने व्यवस्था यसअघि थियो ।
जस्तो कि कुनै लगानीकर्ताले ए नामक कम्पनीको सेयर प्रतिकित्ता ७५१ रुपैयाँमा २३३३ कित्ता किन्न वा बेच्नको लागि एओएनमा राख्यो । यो भनेको उसले सो मूल्यमा सो कम्पनीको २३३३ कित्ता सेयर पाएपछि मात्रै किन्ने वा बेच्ने भन्ने हो । जुन अब हट्ने भएको छ ।
अब सोही खरिद तथा बिक्रीकर्ताले सो कम्पनीको ७५१ रुपैयाँमा २३३२ कित्ता सेयर पाएपनि किन्नु वा बेच्नुपर्छ । एओएन हटेपछि खरिद तथा बिक्रीकर्ताले तोकेको मूल्यमा तोकिएसम्मको वा सोभन्दा कम कित्ता सेयर पनि किन्नु वा बेच्नु पर्ने भएको छ ।