काठमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ मंगलबार बिहान साढे ८ बजे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा भएको हो ।
क्यापिटलका अनुसार उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट विधिद्धारा बाँडफाँड भएको छ । सो अनुसार पहिलो चरणमा रितपूर्वक आवेदन दिनेमध्ये १ लाख ८३ हजार ४७ जनालाई १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको छ । उनीहरुलाई कूल १८ लाख ३० हजार ४७० सेयर बाँडफाँड गरिएको हो ।
त्यसपछि दोश्रो चरणमा बाँकी रहेको २ कित्ता सेयर २ जनाले एक एक कित्ताको दरले पाएका छन् । यससँगै उनीहरुले पहिलो चरणको १० कित्ता र दोश्रो चरणको एक कित्ता गरी कूल ११ कित्ता सेयर हात पारेका छन् ।
उक्त आईपीओमा सर्वसाधारणको तर्फबाट मागभन्दा ९.६९ गुणा बढी आवेदन पारेको थियो । बिक्री गरिएको १८ लाख ३० हजार ४७२ कित्ता सेयरको लागि जम्मा १५ लाख ९५ हजार ५५४ जना आवेदकहरुबाट आवेदन दिएका थिए । उनीहरुले कूल १ करोड ७७ लाख ५४ हजार ३०० कित्ता सेयर माग गरेका थिए ।
आवेदन दिएकामध्ये १५ लाख ९६ हजार ७९६ जना आवेदकहरुबाट प्राप्त भएको १ करोड ७७ लाख ३४ हजार ३७० कित्ता सेयर बाँडफाँडका लागि योग्य रहेको देखिएको क्यापिटलले जनाएको छ । त्यस्तै, १ हजार ७५८ जनाले १९ हजार ९३० कित्ता सेयरको लागि दिएको आवेदन रद्द गरिएको छ ।