काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेखबाट ५६ करोड २३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । बीमा समितिका अनुसार १९ कम्पनीमध्ये ७ वटा कम्पनीले सो मात्राको प्रिमियम संकलन गरेका हुन् ।
चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौसम्ममा ७ वटा कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्री गरी सो मात्राको बीमाशुल्क संकलन गरेका हुन् । जसमा सुर्या लाइफ, आईएमई लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल, सिटिजन लाइफ र सानिमा लाइफ रहेका छन् ।
यीमध्ये सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा सन नेपाल लाइफ रहेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा २७ करोड ५ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको समितिले जानकारी गराएको छ । जुन अन्य कम्पनीको तुलनामा दोब्बर बढी हो ।
त्यस्तै, सुर्या लाइफले १० करोड ७३ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बीमाशुल्क संकलन गरेको छ । ज्योति लाइफले ७ करोड ९९ लाख, सिटिजनले ३ करोड ७६ लाख, सानिमा लाइफले २ करोड ८५ लाख, रिलायबल लाइफले २ करोड ८१ लाख र आइएमई लाइफले ९८ लाख रुपैयाँ बराबरको सो प्रकारको बीमाशुल्क उठाएका छन् ।