काठमाडौं । पछिल्लो समय जीवन बीमा पोलिसी सरेन्डर गर्नेहरु घटेको छ । चालु आर्थिक वर्षको साउनको तुलनामा भदौ महिनामा बीमा पोलिसी त्याग्ने अर्थात सरेन्डर वा समपर्ण गर्नेको संख्यामा गिरावट आएको हो ।
बीमा समितिका अनुसार समीक्षा अवधिमा बीमालेख सरेन्डर गर्ने रकम र संख्या दुबै घट्न पुगेको छ । बीमितले भदौमा मात्रै ८ हजार ५२ वटा बीमालेखबाट १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका छन् । जुन अघिल्लो महिनाको तुलनामा ३६ करोड ४४ लाख रुपैयाँ अर्थात २४.०७ प्रतिशतले घटी हो । अघिल्लो महिना अर्थात साउनमा कूल एक अर्ब ५१ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा बीमा पोलिसी सरेन्डर भएका थिए ।
रकमका आधारमा ७ कम्पनीको बीमालेख सरेन्डरमा सुधार देखिएको छ । जसमा नेशनल लाइफ, एशियन लाइफ, नेपाल लाइफ, प्राइम लाइफ, सानीमा लाइफ, रिलायन्स लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेका छन् ।
यीमध्ये पनि नेशनल लाइफको बीमा पोलिसी सरेन्डरमा सबैभन्दा बढी सुधार देखिएको छ । एक महिनाको अवधिमा कम्पनीको ४७.४४ प्रतिशतभन्दा कम रकमको बीमालेख सरेन्डर भएको छ । साउनमा २८ करोडको बीमालेख सरेन्डर भएकोमा भदौमा १४ करोड ७१ लाख रुपैयाँ बराबरको भएको छ ।
त्यस्तै, सरेन्डर रकममा सुधार आउनेको दोश्रोमा एशियन लाइफ र तेश्रोमा नेपाल लाइफ रहेका छन् । यी कम्पनीको क्रमशः ३९.८८ र ३५.१७ प्रतिशतभन्दा कमले बीमा पोलिसी सरेन्डर भएका छन् ।
त्यसैगरी, प्राइम लाइफको २९.९८ प्रतिशत, सानीमा लाइफको २८.९७., रिलायन्स लाइफको २८.३४ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको बीमालेख सरेन्डर रकममा १६.२५ प्रतिशतको सुधार देखिएको हो ।
रकमको आधारमा १२ कम्पनीको बीमा पोलिसी सरेन्डर बढेको छ । समीक्षा अवधिमा प्रतिशतको आधारमा सबैभन्दा बढी रकमको बीमालेख सरेन्डर हुनेमा सन नेपाल लाइफको रहेको छ । एक महिनामा कम्पनीका बीमितले ४३३.७३ प्रतिशतभन्दा बढी रकमको बीमा पोलिसी त्यागेका छन् । साउनमा १० लाख ८८ हजारको बीमालेख सरेन्डर गरेका सन नेपालका बीमितले भदौमा मात्रै ५८ लाख ७ करोड रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् ।
त्यस्तै, युनियन लाइफको १७४.५१ प्रतिशत, सिटिजन लाइफको १६८.४८, ज्योति लाइफको १४१.५७ प्रतिशत, सूर्या लाइफको १३७.४१ प्रतिशत, गुराँस लाइफको ४०.५३ प्रतिशत, प्रभु लाइफको ४०.३८ प्रतिशत, आइएमई लाइफको २८.१७ प्रतिशत, मेटलाइफको २५.७२ प्रतिशत, महालक्ष्मीको २५.०८ प्रतिशत, रिलायबल नेपाल लाइफको ८.९१ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको बीमा पोलिसी सरेन्डर रकम १.७९ प्रतिशतले बढेको छ ।
भदौमा मात्रै सबैभन्दा बढी रकमको बीमा पोलिसी सरेन्डर हुनेमा नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । साउनको तुलनामा पोलिसी सरेन्डर गर्नेमा सुधार देखिएता पनि कम्पनीका बीमितले सबैभन्दा बढी रकमको बीमा पोलिसी त्यागेका छन् । एक महिनामै कम्पनीबाट ४१ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी रोकिएका छन् ।
त्यस्तै, बढी रकमको बीमालेख रोकिनेको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । एक महिनामा कम्पनीबाट २८ करोड १ लाख रुपैयाँ बराबरको बीमा पोलिसी रोकिएका छन् ।
सबैभन्दा कम रकमको बीमा पोलिसी रोकिनेमा सानीमा लाइफ रहेको छ । भदौमा कम्पनीको २७ लाख ४६ हजार रुपैयाँ बराबरको बीमालेख रोकिएका छन् । जुन साउनको तुलनामा २८.९७ प्रतिशतको सुधार भएको हो ।
बीमा पोलिसी सरेन्डर : कुन कम्पनीमा बढ्यो, कुनमा घट्यो ?
