काठमाडौं । पछिल्लो एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको बिजनेस घटेको छ । गत साउनको तुलनामा भदौमा कम्पनीहरुको बिजनेस औषतमा २४.०६ प्रतिशतले घटेको हो ।
बीमा समितिका अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीले भदौमा मात्रै ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको बिजनेश गरेका छन् । जुन साउनको तुलनामा एक अर्ब ७ करोड रुपैयाँले घटी हो । कम्पनीहरुले साउनमा ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको बिजनेश अर्थात बीमाशुल्क आर्जन गरेका थिए ।
निर्जीवन बीमा क्षेत्रको बिजनेसमा असर पर्नुको प्रमुख कारण गाडी आयातमा गरिएको प्रतिबन्ध हो । जसको कारण दशैं तिहारमा नयाँ सवारी साधनहरु नेपाल भित्रिन पाएनन् । त्यसको प्रत्यक्ष असर बीमा व्यवसायमा परेको जानकारहरु बताउँछन् ।
निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठनका अध्यक्ष चंकी क्षेत्री पनि सवारी साधानको आयातमा गरिएको प्रतिबन्धको असर बीमामा परेको स्वीकार्छन् । ‘नयाँ गाडी भित्रिन पाएको छैन, दशैं तिहारमा गाडी बिक्री हुनु पर्ने त्यो पनि छैन,’ उनले भने ।
‘अहिले जति भएको पुरानो रिन्यु मात्रै हो, नयाँ बिजनेस भए बिजनेस बढ्थ्यो, पहिला पहिला रिन्यू नहुँदा त्यसको रिकभरी नयाँले गर्थ्यो, अहिले त नयाँ नै ठप्प छ,’ उनले थपे ।
सरकारले बैशाख १४ गतेदेखि सबै प्रकारका पेट्रोलियमबाट चल्ने कार, १५० सीसीभन्दा माथिका मोटरसाइकल लगायतका सवारी आयातमा प्रतिबन्ध लगाएको थियो । बैशाख १३ गते राजपत्रमा सूचना जारी गर्दै असार मसान्तसम्म गरिने भनिएको उक्त प्रतिबन्ध हालसम्म जारी नै छ । सरकारले हटाएको छैन ।
त्यस्तै, कम्पनीहरुको बिजनेसमा ह्रास आउनुको अर्को कारण बैंकहरुबाट ऋण नपाउनु हो । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउन गाह्रो भएको छ । जसले गर्दा ऋण लिएर बाइक गाडी किन्नेहरुले किन्न पाएका छैनन् । र, त्यसको असर बीमा परेको छ ।
कारोना कालमा जोखिम नै भएपनि बीमा व्यवसायमा असर नदेखिएको थिए । तर पछिल्लो समय त्यसको असार बीमा व्यवसायमा पनि पर्न थालेको सीईओ चंकीको भनाई छ । ‘समग्र अर्थतन्त्र नै सुस्ताएपछि सबैतिर चेन इफेक्ट त परिहाल्छ,’ उनले थपे ।
यद्पि अघिल्लो आर्थिक वर्षमा पनि निर्जीवन बीमा कम्पनीहरुको बिजनेस साउनको तुलनामा भदौमा घटेको थियो । २०७८ साउनमा २ अर्ब ९९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका कम्पनीहरुले सोही भदौमा २ अर्ब ९६ करोड रुपैयाँ संकलन गरेका थिए । जुन चालु आवको तुलनामा न्यून दर हो ।
प्रभु बाहेक सबैको खस्कियो
एक महिनाको अवधिमा प्रभु इन्स्योरेन्स बाहेक सबै कम्पनीको बिजनेस खस्किएको छ । बिजनेस खस्किएका १८ कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा बढी प्रतिशतले घटेको छ । साउनको तुलनामा भदौमा कम्पनीको बिजनेस ५७.०६ प्रतिशतले घटेको हो । साउनमा ८४ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको कम्पनीले भदौमा ३६ करोड १८ लाख रुपैयाँ मात्रै संकलन गरेको छ । यद्पि यो रकम भने अन्य कम्पनीको तुलनामा सर्वाधिक बीमाशुल्क हो ।
त्यस्तै, नेशनल इन्स्योरेन्सको बिजनेस पनि एक महिनामै ५१.३५ प्रतिशतले घटेर ८ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले साउनमा १७ करोड ४८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो ।
भदौमा सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको दोश्रोमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले भदौमा मात्रै ३१ करोड ७१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन साउनको तुलनामा १०.७१ प्रतिशतले घटी हो ।
त्यस्तै, नेको इन्स्योरेन्सको बिजनेस सबैभन्दा कम दरले घटेको छ । सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको तेश्रो स्थानमा रहेको कम्पनीको बीमाशुल्क साउनको तुलनामा भदौमा ०.८८ प्रतिशतले घटेको छ । साउनमा मात्रै २७ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको प्रिमियम भदौमा २६ करोड ८६ लाखमा सीमित छ ।
भदौमा सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेको अग्रस्थानमा जनरल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले भदौमा ६ करोड ६३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन साउनको तुलनामा ४५.८७ प्रतिशतले घटी हो । साउनमा सोही कम्पनीले १२ करोड २५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो ।
सबै कम्पनीको बीमाशुल्क आर्जनमा ह्रास आउँदा प्रभु इन्स्योरेन्सको भने बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले आफ्नो बिजनेस ८८.६० प्रतिशतले बढाएर १९ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । जुन साउनमा १० करोड ३४ लाख रुपैयाँ थियो ।