काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा कार्तिक २८ गते, होटल हैरिसन प्यालेस बिराटनगरमा बिहान ९ बजे बोलाएको हो ।
कम्पनीको सभाले कम्पनी ज्योति लाईफ इन्स्योरेन्ससँग मर्जरमा जाने विशेष प्रस्ताव समेत पारित गर्नेछ । दुवै कम्पनी मर्जरपश्चाते सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट बीमा व्यवसाय गर्नेछन् ।
डीडीए रिपोर्ट अनुसार दुवै कम्पनी १ः८२४५ स्वाप रेसियोमा मर्ज हुने भएको छ । सूर्या लाइफको १ कित्ता सेयर बराबर ज्योति लाइफको ०.८२४५ कित्ता कायम हुनेछ । सोही प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साथै, सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
इन्स्योरेन्स कम्पनीको सेयर कारोबार असार १३ गतेदेखि रोक्का रहेको छ । त्यसैले यसअघि नेप्सेमा कायम सेयरधनीहरु सभामा सहभागी हुन सक्नेछन् ।