काठमाडौं । बिहीबारको सेयर बजारमा बीमा समूह हरियाली छाएको छ । राताम्मे देखिएको सो दिनको बजारमा निर्जीवन र जीवन बीमा समूह मात्रै हरिया देखिएका हुन् ।
जसमध्ये जीवन बीमा समूह १.४० अंकले बढेर ८ हजार ९३९ बिन्दुमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ०.६२ अंकले बढेर ७ हजार ७०१ बिन्दुमा पुगेको छ ।
बिहीबार दुई जीवन र दुई निर्जीवन गरी कूल चार वटा बीमा कम्पनीको सेयर मूल्य बढेको छ । जसमा जीवनको तर्फबाट नेशनल लाइफ र एशियन लाइफ रहेका छन् भने निर्जीवनको तर्फबाट राष्ट्रिय बीमा कम्पनी र शिखर इन्स्योरेन्स रहेका छन् ।
जसमध्ये नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य २.२९ प्रतिशतले बढेर प्रतिकित्ता ५८१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १३ रुपैयाँले बढी हो ।
नेशनल लाइफले १५.७८९ प्रतिशत लाभांश प्रस्तावसहित मंसिर १८ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रयोजनको लागि मंसिर ८ गते एक दिन बुक क्लोज हुँदै छ ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा सामान्य अर्थात ०.०४ प्रतिशतले बढी हो ।
निर्जीवन बीमा व्यवसाय गर्दै आएको राष्ट्रिय बीमा कम्पनीको पनि सेयर मूल्य बढेर प्रतिकित्ता १३ हजार १३२ रुपैयाँमा कारोबार भएको छ । जुन बुधबारको तुलनामा १.८० प्रतिशत अर्थात २३२ रुपैयाँले बढी हो ।
शिखर इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ७५४.९० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ८.९० रुपैयाँ अर्थात १.१९ प्रतिशतले बढी हो ।