काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीको स्थापना र विकासले जीवन र निर्जीवन बीमा कम्पनीको जोखिमाङ्कन क्षमता बढेको बताएका छन् । कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले सो बताएका हुन् ।
साथै, कम्पनीहरुको जोखिमाङ्कन क्षमता बढ्दा बीमा बजारको विस्तारमा थप मद्दत पुगेको उनको दावी छ ।
अर्थमन्त्री शर्माले प्राकृतिक र मानव सिर्जित जोखिमबाट जीवन, व्यवसाय, सम्पत्ति र दायित्वको रक्षावरण गरी वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताए । त्यस्तै, बीमा प्रतिको जनविश्वासलाई अझ मजबुत बनाउन शीघ्र बीमा दाबी भुक्तानी प्रणालीको विकास गर्नुपर्ने उनको भनाई छ ।
नेपाल सरकारले पर्न्धौं योजनाको अन्त्यसम्ममा जीवन बीमा तथा स्वास्थ्य बीमामा आवद्ध जनसंख्या ६० प्रतिशत पुग्ने र कृषि बीमाको पहुँच १० प्रतिशत कृषकमा पुग्ने अपेक्षा गरेको छ । यो लक्ष्यलाई पूरा गर्न यस कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ समेत उनको विश्वास छ ।
नेपाल पुनर्बीमाले हरेक वर्ष नेपालबाट बाहिरिने पुनर्बीमा शुल्क बापतको ठूलो रकमलाई रोक्दै देशको आर्थिक विकासमा समेत टेवा पुर्याइरहेको छ ।