काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पारेशन (एलआइसी) नेपालको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ लाख २९ हजार रुपैयाँ नोक्सानीमा छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा ५ करोड ५७ लाख रुपैयाँ प्रोभिजन गरेका कारण कम्पनीको नोक्सानीमा गएको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १४.०३ प्रतिशत घटेर ४ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब २२ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क १३.९८ प्रतिशत घटेर ४ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब २५ करोड १७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको समिक्षा अवधिमा खुद दाबी भुक्तानी ४७.४३ प्रतिशत घटेर १ अर्ब ९५ करोड ८२ लाख रुपैयाँ मात्रै गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्ष अभिकर्ताले ५० करोड १४ लाख रुपैयाँ कमिसन पाएका थिए भने यस वर्ष भने ३५ करोड रुपैयाँ मात्रै कमिसन पाएका छन् ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेर २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ, जगेडा कोष ८.८५ प्रतिशत घटेर ६० करोड ९७ लाख रुपैयाँ, जीवन बीमा कोष १६.९० प्रतिशत बढेर ९७ अर्ब ५० करोड रुपैयाँ र महाविपत्ति कोष ३५ प्रतिशत बढेर ३६ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.९८ प्रतिशत ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ छ ।