काठमाडौं । नेपालका दुई पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षमा मात्रै पौने २८ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् । तीन महिनामै नेपाल पुनर्बीमा (नेपाल रि इन्स्योरेन्स) कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीले विभिन्न क्षेत्रमा २७ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ बराबरको लगानी गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणकोअनुसार नेपाल रिले २० अर्ब १ करोड ४ लाख र हिमालयन रिले ७ अर्ब ७६ करोड ४० लाख रुपैयाँ बराबरको लगानी गरेका छन् ।
नेपाल रिले कुन क्षेत्रमा कति ?
जसमध्ये नेपाल पुनर्बीमा कम्पनीले विभिन्न ७ वटा क्षेत्रमा २० अर्ब रुपैयाँ बढी लगानी गरेको हो । जसमध्ये नेपाल सरकारको बचत पत्रमा ३० करोड, क वर्गको मुद्दती निक्षेपमा १४ अर्ब ८१ करोड १२ लाख, सूचीकृत कम्पनीको सेयरमा ९ करोड ४७ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा १ अर्ब ७३ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी गरेको छ ।
त्यस्तै, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ९ करोड ५१ लाख, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ९६ करोड ३१ लाख र अन्य क्षेत्रमा १ अर्ब ६३ लाख रुपैयाँ बराबरको लगानी नेपाल पुनर्बीमा कम्पनीको छ ।
हिमालयन रिले कुन क्षेत्रमा कति ?
यता हिमालयन रिले जम्मा तीन वटा क्षेत्रमा लगानी गरेको छ । जसमध्ये कम्पनीले क वर्गको बैंकको मुद्दती निक्षेपमा ७ अर्ब ९ करोड, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा ६३ करोड ४० लाख र म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ४ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।