लाइफ इन्स्योरेन्सले उठाए पौने ३६ अर्ब प्रिमियम, आठबाहेक सबै कम्पनी अर्ब क्लबमा

<p>काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका जीवन बीमा कम्पनीहरुले पौने ३६ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको अवधिमा ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ बराबरको प्रिमियम अर्थात बीमाशुल्क संकलन गरेका हुन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.३० प्रतिशतले घटी हो [&hellip;]</p>

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका जीवन बीमा कम्पनीहरुले पौने ३६ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको अवधिमा ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ बराबरको प्रिमियम अर्थात बीमाशुल्क संकलन गरेका हुन् ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.३० प्रतिशतले घटी हो । सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासमा ३८ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका थिए ।

चालु आवमा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । समीक्षा अवधिमा कम्पनीले बीमितहरुबाट १० अर्ब ४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

त्यस्तै, ४ अर्बभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा दुई कम्पनी रहेका छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ४ अर्ब ५१ करोड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३८ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

त्यसैगरी, एक अर्ब बढीको प्रिमियम संकलन गर्नेमा अन्य ८ कम्पनी रहेका छन् । जसमा युनियन लाइफ इन्स्योरेन्सले १ अर्ब ९१ करोड, एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ७४ करोड, सिटिजन लाइफले १ अर्ब ४७ करोड, सूर्या लाइफ इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ, मेट लाइफ एलिकोले एक अर्ब ३१ करोड, प्राइम लाइफ इन्स्योरेन्सले १ अर्ब १६ करोड, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ११ करोड र सन नेपाल लाइफले १ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

यता एक अर्बभन्दा कम रकमको बीमाशुल्क आर्जन गर्नेको सूचीमा पनि ८ कम्पनी रहेका छन् । ज्योति लाइफले ९५ करोड १८ लाख, रिलायबल नेपाल लाइफले ८९ करोड ३१ लाख, आईएमई लाइफले ८७ करोड १४ लाख, रिलायन्स लाइफले ७८ करोड ८० लाख, गुराँस लाइफले ७५ करोड ७ लाख, सानिमा लाइफले ५८ करोड २५ लाख, प्रभु लाइफले ५३ करोड ७२ लाख र महालक्ष्मी लाइफले ४० करोड ५२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

Share News