कम्पनीको व्यवसाय वृद्धिमा जोड दिन्छौं, लगानीलाई थप विस्तार गर्छौं : सीईओ पराजुली

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) का प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको व्यवसाय वृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको बताएका छन् । बिहीबार पर्साको बीरगञ्जमा भएको कम्पनीको २२औं वार्षिक साधारणसभामा बोल्दै उनले सो बताएका हुन् । साथै, कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) का प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको व्यवसाय वृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको बताएका छन् । बिहीबार पर्साको बीरगञ्जमा भएको कम्पनीको २२औं वार्षिक साधारणसभामा बोल्दै उनले सो बताएका हुन् ।

साथै, कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको उनले बताए ।

कार्यक्रममा अध्यक्ष गोविन्द लाल संघईले आ.व. २०७७/७८ को वार्षिक वित्तीय विवरण तथा संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरुबीच अझै नयाँ उचाइमा पुग्ने कम्पनीको लक्ष्य रहेको बताए ।

त्यसको लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरिरहेको बताउँदै उनले कम्पनीको समग्र विकासका लागि प्रतिवद्धता व्यक्ति गरेका छन् ।

अघिल्लो २१औं वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम भैसकेकोले संचालक समिति गठनमा पनि सोही बमोजिमको अनुपात कायम गर्नका लागि अनुरोध भएकोमा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा ३ (क) बमोजिम पहिले नै सूचित नगरिएको विषयमा साधारण सभामा तत्काल विशेष प्रस्ताव राख्नका लागि चाहिने आवश्यक गणपुरक संख्या नपुगेकोले यस वार्षिक साधारण सभामा उक्त विषयलाई विशेष प्रस्तावका रुपमा स्वीकार गर्न नसकिएको कार्यक्रममा जनाइयो । साथै, यो विषयलाई आगामी वार्षिक साधारण सभामा अगाडि बढाइने बताइएको छ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५.७८९५ प्रतिशतका दरले हुन आउने १ अर्ब २९ करोड रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को लागि एसएआर एशोसिएट्सलाई लेखापरीक्षकको रुपमा पुनर्नियुक्ति गर्दै संचालक समितिले गरेको स्वतन्त्र सञ्चालक पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ ।

नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा लगानी १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ गरिसकेको छ । र जीवन बीमाकोषमा १ खर्ब ४२ अर्ब ९ करोड संचित भइसकेको कम्पनीले जानकारी गराएको छ ।

साथै, कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर स्थापित १९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

Share News