काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरुको बैठक भत्ता ५० प्रतिशतसम्म बढेको छ । इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार अध्यक्ष एवम् सञ्चालकहरुले पाउँदै आएको भत्तामा न्यूनतम २६.६७ प्रतिशतदेखि अधिकतम ५० प्रतिशतसम्मले वृद्धि भएको हो ।
प्रतिवेदन अनुसार समितिको बैठकमा उपस्थित भए वापत इन्स्योरेन्सका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले प्रतिबैठक भत्ता १९ हजार रुपैयाँ पाउने भएकी छिन् । जुन यसअघि उनले बुझ्दै आएको भत्ताको तुलनामा २६.६७ प्रतिशतले बढी हो । यसअघि कम्पनीले सञ्चालक समितिको अध्यक्षलाई प्रतिबैठक भक्ता १५ हजार रुपैयाँ दिँदै आएको थियो ।
त्यस्तै, इन्स्योरेन्स सञ्चालकहरुले बैठकमा उपस्थित जनाएवापत प्रतिबैठक भत्ता १८ हजार रुपैयाँ पाउने भएका छन् । जुन अघिल्लो आवको तुलनामा ४४ प्रतिशतले बढी हो । यसअघि बैंकका सञ्चालकले प्रतिबैठक भत्ता १२ हजार ५ सय रुपैयाँ बुझि लिँदै आएका थिए ।
त्यस्तै, सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालकहरुलाई पत्रपत्रिका, टेलिफान, मोबाईल, इन्टरनेट खर्च वापत दिईने सुविधा पनि ५० प्रतिशतले बढेको छ । यसअघि प्रतिमहिना १० हजार रुपैयाँ पाउँदै आएका अध्यक्ष एवं सञ्चालकहरुले अब प्रतिमहिना १५ हजार रुपैयाँ पाउने छन् ।
हाल इन्स्योरेन्सको सञ्चालकमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट देवेन्द्र रमण खनाल, संस्थापक सेयरधनी समूहबाट रथीपवन बहादुर पाँडे(अ.प्रा.) र कुशल मल्ली रहेका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनी समूहकोतर्फबाट भवानी राणा र ई. कुलदीप शरण सिंह छन् । त्यस्तै, स्वतन्त्र सञ्चालकमा सुमन प्रसाद शर्मा र कम्पनी सचिवमा शर्मिला श्रेष्ठ रहेका छन् ।
इन्स्योरेन्सले समय सापेक्ष भक्ता र अन्य सुविधा व्यवस्था गर्नुपर्ने भएकाले उक्त सेवा सुविधामा वृद्धि गरेको हो । जुन मंसिर १८ गते आइतबार सम्पन्न इन्स्योरेन्सको ३४औं वार्षिक साधारण सभाले समेत पारित गरिसकेको छ । यसलाई अब कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल बीमा प्राधिकरणले पारित गरेपछि मात्रै लागू हुनेछ ।
आर्थिक वर्ष २०७७/७८ मा इन्स्योरेन्सले सदस्यहरुलाई (उपसमितिको बैठकको भत्ता समेत गरी) बैठक भत्ता वापत जम्मा १८ लाख २७ हजार ५०० रुपैयाँ भुक्तानी गरिएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश कुमार खत्रीले तलब भत्ता सञ्चय कोष तथा अन्य सेवा सुविधा स्वरुप वार्षिक ७९ लाख ५६ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै, इन्स्योरेन्सका व्यवस्थापनका अन्य पदाधिकारीहरुलाई जम्मा पारिश्रमिक र भत्ता वापत १ करोड ४६ लाख रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
उक्त आवमा जम्मा ९ बैठकको लेखा परीक्षण समितिका सदस्यलाई कूल ३ लाख २५ हजार रुपैयाँ बैठक भत्ता दिइएको छ । इन्स्योरेन्सका सञ्चालक कुलदीप शरण सिंहको संयोजकत्वमा बनेको उक्त समितिमा महेश्वर प्रकाश श्रेष्ठ र कविराज अधिकारी सदस्य रहेका छन् भने सचिवमा सन्देश केसी छन् । उक्त सदस्यहरुलाई प्रति बैठकभत्ता १२ हजार ५०० रुपैयाँ प्रदान गरिएको हो भने यो बाहेक अन्य कुनै पनि भत्ता सुविधा उपलब्ध गराएको छैन ।
सम्बन्धित समाचार