यी हुन् लाभांश प्रस्ताव गर्ने ७ निर्जीवन कम्पनी, कुनको बढी ?

<p>काठमाडौं । अहिले वित्तीय संस्थाहरु धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई वितरण गर्न लाभांश प्रस्ताव गरिरहेका हुन् । मंगलबारसम्म ७ वटा इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्नेमा ७ वटै निर्जीवन बीमा कम्पनी रहेका छन् । हालसम्म आइएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, युनाइटेड [&hellip;]</p>

काठमाडौं । अहिले वित्तीय संस्थाहरु धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई वितरण गर्न लाभांश प्रस्ताव गरिरहेका हुन् ।

मंगलबारसम्म ७ वटा इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्नेमा ७ वटै निर्जीवन बीमा कम्पनी रहेका छन् । हालसम्म आइएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, नेपाल  इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका छन् ।

लाभांश प्रस्ताव गर्ने बीमा कम्पनीहरुमा सबैभन्दा धेरै लाभांश नेको इन्स्योरेन्सको रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघ्नेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा पनि १५.७९ प्रतिशत लाभांश प्रदान गरेको थियो भने २०७६/७७ मा १६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बढी लाभांश प्रस्ताव गर्नेको दोस्रो इन्स्योरेन्स कम्पनीमा प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेका छ । कम्पनीले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
प्रिमियरले गत वर्ष पनि १५ प्रतिशत लाभांश नै वितरण गरेको थियो तर त्यसमा १४.२५ प्रतिशत बोनस र मात्र ०.७५ प्रतिशत नगद लाभांश रहेको थियो । गएको ५ वर्षमा कम्पनीले सबैभन्दा बढी लाभांश २०७४/७५ मा ८४ प्रतिशत गरेको थियो भने सबैभन्दा कम २०७६/७७ मा ११.०५ प्रतिशत गरेको थियो ।

यस्तै, बढी लाभांश प्रस्ताव गर्नेको तेस्रोमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीले आइतबार मात्रै गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गएको दुई वर्षअघि पनि यही लाभांश वितरण गरेको थियो ।

यस्तै, लाभांश प्रस्ताव गर्ने कम्पनीमा सिद्धार्थ इन्स्योरेन्स पनि रहेको छ । कम्पनीले यस वर्ष सेयरधनीहरुलाई ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश गएको दुई वर्षको दाँजोमा कम हो । कम्पनीेले गएको दुई वर्ष सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल इन्स्योरेन्सले पनि लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको लाभांशबाट सेयरधनीलाई ८.४२११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश गएको दुई वर्षको दाँजोमा कम हो । कम्पनीले गत वर्ष सेयरधनीलाई ११.५७८९ प्रतिशत र अघिल्लो वर्ष १० प्रतिशत लाभांश वितिरण गरेको थियो ।

यस्तै, आइएमई जनरल इन्स्योरेन्सले ६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस र ०.३४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीले गएको दुई वर्षमा वितरण गरेको लाभांशको दाँजोमा कम हो । कम्पनीले गएको दुई वर्ष सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हालसम्मको प्रस्तावित लाभांशमा सबैभन्दा कम युनाइटेड इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । यद्यपि कम्पनीले ५ वर्षपछि लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा १० प्रतिशत र २०७१/७२ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई सम्बन्धित कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले पाउनेछन् ।

Share News