काठमाडौं । पछिल्लो एक महिनामा निर्जीवन बीमा व्यवसाय ५४ करोड २२ लाख रुपैयाँले घटेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत असोजको तुलनामा कार्त्तिकमा निर्जीवन बीमा व्यवसाय सो मात्रा अर्थात १७.७३ प्रतिशतले घटेको हो ।
असोजमा ३ अर्ब ५ करोड ८३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका कम्पनीहरुले कार्त्तिकमा २ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ बराबरको मात्रै व्यवसाय गरेका छन् । यो अवधिमा तीन कम्पनीले मात्रै आफ्नो व्यवसाय बढाउन सफल भएका छन् । बाँकी कम्पनीको भने व्यवसाय घटेको देखिन्छ ।
सञ्चालनमा रहेका कम्पनीमध्ये दी ओरियन्टल, हिमालयन एभरेष्ट र सानिमा जीआईसीको बिजनेस बढेको छ । जसमा दी ओरियन्टलको सर्वाधिक अर्थात २९.८१ प्रतिशत, सानिमा जीआईसीको १८.९८ प्रतिशत र हिमालयन एभरेष्टको ३.३६ प्रतिशतले बिजनेस बढेको छ ।
रकमका आधारमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्सको अगाडि छ । कार्त्तिमा मात्रै इन्स्योरेन्सले २५ करोड ३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन असोजको तुलनामा २८ प्रतिशतले घटी हो ।
बढी बीमाशुल्क आर्जन गर्नेको दोश्रोमा सगरमाथा र तेश्रोमा नेको इन्स्योरेन्स रहेका छन् । यी कम्पनीले कार्त्तिक महिनामा क्रमशः २१ करोड ६६ लाख र २१ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जुन असोजको तुलनामा क्रमशः १८.१९ र २५.८१ प्रतिशतले घटी हो ।
हालै मर्जरमा गई एकीकृत कारोबार गरिसकेका साविकका सानिमा जनरल र जनरल इन्स्योरेन्सको पनि बीमाशुल्कलाई समावेश गरिएको छ । कार्त्तिकको ७ गतेबाट एकीकृत कारोबार भएकोले सो भन्दा अगाडिको बीमाशुल्क आर्जनलाई छुट्टा छुट्टै देखाइएको छ । त्यसैले पनि प्रतिशतको आधारमा सबैभन्दा बढी बिजनेस घट्नेमा यी दुई कम्पनी रहेका छन् ।
यी बाहेक नेशनल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आर्जन ३६.७३ प्रतिशतले घटेको छ । असोजमा ६ करोड ८४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको कम्पनीले कार्तिकमा ४ करोड ३३ लाख रुपैयाँ मात्रै छ । त्यससँगै प्रभुको पनि व्यवसाय ३३.२८ प्रतिशतले घटेर कार्तिकमा ७ करोड ६३ रुपैयाँमा सीमित छ ।
गत साउनदेखि कार्त्तिकसम्ममा निर्जीवन बीमा कम्पनीले १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । समीक्षा अवधिमा कम्पनीहरुले ९ लाख १९ हजार १३८ वटा बीमा पोलिसी बिक्री गरी सो मात्राको प्रिमियम संकलन गरेका हुन् ।
पछिल्लो समय देशको आर्थिक अवस्था खस्कँदै गइरहेकोले त्यसको असर बीमा क्षेत्रमा पनि परेको हो । त्यसमाथि पनि कार्त्तिकमा प्राय एक साताभर निरन्तर सार्वजनिक बिदा परेकोले पनि बीमा व्यवसायमा संकुचन देखिएको जानकारहरु बताउँछन् ।
कुनको कतिले घट्यो बढ्यो ?
