काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्सले लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीको मंसिर ८ गते २२ औं बार्षिक साधारण सभाले पारित गरेको लाभांश सेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गरको हो । कम्पनीले उक्त लाभांश सेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरेको जनाएको छ ।
यदि उक्त लाभांश सेयरधनीहरुको खातामा नआएको भए सेयरको प्रमाणपत्र अभौतिकिकरण गरिसकेकाले पनि हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरि नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तिय संस्थामा रहेको आफ्नो बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराउनु पर्नेछ ।
यस्तै, हालसम्म हितग्राही खाता खोल्न बाँकी सेयरधनीहरुले आफुलाई पायक पर्ने सम्बन्धित कुनै पनि निक्षेप सदस्यकोमा हितग्राही खाता खोली आफ्नो सेयरहरु अभौतिकीकरण गराउनुपर्नेछ ।
साथै बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमन अनुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीले नै व्यहोर्नु पर्ने कम्पनीले बताएको छ ।
कम्पनीको सेयर कात्तिक १७ गतेसम्म धितो बन्धक राखि कर्जा सुविधा उपभोग गरेका सेयरधनीहरुले नो अब्जेक्सन लेटर ल्याएपश्चात् मात्रै नगद लाभांश बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।