लाभांश घोषणाको तयारीमा आधा दर्जन जीवन बीमा कम्पनी, बाँकीको अवस्था कस्तो ?

<p>काठमाडौं । सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये आधा दर्जन जीवन बीमा कम्पनीहरु लाभांश घोषणा गर्ने तयारीमा छन् । नेपाल बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेसँगै ६ वटा कम्पनीहरुलाई अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गर्ने तयारीमा रहेका हुन् । हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, एशियन लाइफ र प्राइम लाइफले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेका [&hellip;]</p>

काठमाडौं । सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये आधा दर्जन जीवन बीमा कम्पनीहरु लाभांश घोषणा गर्ने तयारीमा छन् । नेपाल बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेसँगै ६ वटा कम्पनीहरुलाई अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गर्ने तयारीमा रहेका हुन् ।

हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, एशियन लाइफ र प्राइम लाइफले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेका छन् । त्यस्तै, अन्य ६ वटा कम्पनीले भने लाभांश प्रस्ताव गर्ने तयारी गरिरहेका छन् ।

मेटलाइफ, गुराँस लाइफ, सूर्या लाइफ, आईएमई लाइफ, ज्योति लाइफ र रिलायबल लाइफ इन्स्योरेन्स लाभांश प्रस्ताव गर्ने तयारीमा छन् । प्राधिकरणले यी कम्पनीहरुको आर्थिक वर्ष २०७७/७८ को वित्तीय वित्तीय विवरण स्वीकृत गरिसकेको छ ।

त्यस्तै, वित्तीय विवरण पेश गर्नेमा अन्य २ कम्पनी रहेका छन् । सन नेपाल लाइफ र सिटिजन लाइफले प्राधिकरणमा उक्त आवको वित्तीय विवरण पेश गरिसकेका छन् । तर हालसम्म भने समितिले यी कम्पनीको वित्तीय विववरण्लाई स्वीकृत गरेको छैन । सन नेपालले मंसिर १२ गते र सिटिजन लाइफले कार्त्तिक ६ गते नै प्राधिकरणमा उक्त आवको विवरण पेश गरेका थिए ।

बाँकी रहेका ७ वटा कम्पनीले भने हालसम्म पनि उक्त आवको वित्तीय विवरण प्राधिकरणमा पेश गरेका छैनन् । प्राधिकरणका अनुसार राष्ट्रिय बीमा संस्थान, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), युनियन लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले अघिल्लो आवको वित्तीय विवरण नै पेश गरेका छैनन् ।

यससँगै प्राधिकरणले वित्तीय विवरण पेश नगर्ने कम्पनीहरुलाई छिटो पठाउन पनि पत्राचार गरिसकेको छ । यता कम्पनीहरुले भने एक्चुरी गर्नको लागि भारत पठाउनु पर्ने भएकोले ढिलाई भएकोले प्राधिकरणमा वित्तीय विवरण पेश गर्न ढिलाई भएको बताएका छन् ।

प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले एक्चुरीका कारण वित्तीय विवरण समयमै पेश गर्न नसकेको धारणा राखे । उनले एक्चुरी भएलगत्तै प्राधिकरणमा वित्तीय विवरण पेश गर्ने पनि जानकारी दिए । युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले पनि वित्तीय विवरण भारतमा एक्चुरीको प्रकृयामा रहेकोले प्राधिकरणमा पेश गर्न ढिलाई भइरहेको बताए ।

कम्पनीहरुले आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र वित्तीय विवरण प्राधिकरणमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । कुनै कारणवश ढिलाई भएमा प्राधिकरणले एक महिना थप गर्न सक्ने प्रावधान छ ।

चारमध्ये तीन कम्पनीको लाभांश पारित

उक्त आर्थिक वर्षको लाभांश घोषणा गरेका ४ कम्पनीमध्ये ३ कम्पनीको लाभांश पारित समेत भइसकेको छ । एशियन लाइफ, नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित भइसकेको छ भने प्राइम लाइफको हुन बाँकी छ ।

यी चार कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको छ । त्यस्तै, नेशनल लाइफले १५.७८९ (१५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद) लाभांश र एशियन लाइफले १५.२६ प्रतिशत (१४.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद लाभांश) वितरण गरिसकेको छ ।

यता प्राइम लाइफले भने १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्तावलाई कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले १३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश पाउने छन् । हालसम्म कम्पनीले वार्षिक साधारण सभामा जानको लागि बुक क्लाजको मिति समेत तय गरिसकेको छैन ।

Share News