काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंजको सुर्खेत रोडमा ७ तल्ले भवन बनाउने भएको छ । इन्स्योरेन्सले करिब ३५ करोडको लगानीमा अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्न लागेको हो ।
इन्स्योरेन्सले नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको करिब साँढे चार कट्ठा जमिनमा भवन बनाउन लागेको हो । उक्त अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङ सहितको हुनेछ भने भवनको निर्माण सम्पन्न भएपछि सो भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सो भवन आधुनिक प्रविधिसहित नेपालगञ्जकै नमूना भवनको रुपमा सम्पन्न हुनेछ । र, भवन निर्माणपछि नेपालगंज लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको छ ।
कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणसंग पूर्व स्वीकृत लिई भवन निर्माण शुरु गरेको हो । कम्पनीको जीवन बीमा कोषको आकार ५२ अर्ब रुपैयाँ बढीको छ ।
बीमा क्षेत्रमै बढी लगानीमा बन्न लागेको उक्त भवनको शिल्यान्स समेत भइसकेको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मीले मंसिर २२ गते नै उक्त भवन निर्माणको औपचारिक शिल्यान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयहरुका कर्मचारीहरु लगायत सो क्षेत्रका अभिकर्ताहरुसहित करिब १०० जनाको उपस्थिति रहेको थियो ।