मर्जर प्रकृयामा रहेका १३ बीमा कम्पनी : एकीकृत कारोबारको लागि कसको तयारी के ?

<p>काठमाडौं । बीमा कम्पनीहरुमध्ये हाल १३ वटा कम्पनी मर्जर प्रकृयामा रहेका छन् । जीवन र निर्जीवन गरी कूल १३ कम्पनी प्रारम्भिक सम्झौता गरी मर्जरको अन्तिम चरणमा छन् । नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) ले चुक्ता पुँजी बढाउन निर्देशन दिएसँगै कम्पनीहरुले मर्जरको बाटो रोजेका हुन् । बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुमध्ये हिमालयन एभरेष्ट (हिमालयन र [&hellip;]</p>

काठमाडौं । बीमा कम्पनीहरुमध्ये हाल १३ वटा कम्पनी मर्जर प्रकृयामा रहेका छन् । जीवन र निर्जीवन गरी कूल १३ कम्पनी प्रारम्भिक सम्झौता गरी मर्जरको अन्तिम चरणमा छन् ।

नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) ले चुक्ता पुँजी बढाउन निर्देशन दिएसँगै कम्पनीहरुले मर्जरको बाटो रोजेका हुन् । बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुमध्ये हिमालयन एभरेष्ट (हिमालयन र एभरेष्ट इन्स्योरेन्स) र सानिमा जीआईसी (सानिमा जनरल र जनरल इन्स्योरेन्स) ले भने एकीकृत कारोबार समेत शुरु गरिसकेका छन् ।

त्यस्तै, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर, ज्योति लाइफ र सुर्या लाइफ, प्रभु र महालक्ष्मी लाइफ, रिलायन्स र सानिमा लाइफ, प्राइम, गुराँस र युनियन लाइफ एक आपसमा मर्जमा जाँदै छन् । यीमध्ये केहीले एकीकृत कारोबारको लागि मिति तय गरिसकेका छन् भने केही गर्ने तयारीमा छन् ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज हुँदैछन् । हाल यी कम्पनीले मर्जरको प्रकृया लगभग टुङ्ग्याइ एकीकृत कारोबारकोे लागि मिति समेत तय गरिसकेको कम्पनी उच्च श्रोतले बतायो ।

‘मर्जरको लागि डीडीएको काम सम्पन्न भइसकेको छ, अब आगामी माघ २ गतेदेखि एकीकृत कारोबार गर्ने योजना छ,’ उक्त श्रोतले विकासन्युजसँग बतायो ।

मर्जरमा जानको लागि दुबै कम्पनीले गत असार ३० गते नै प्राथमिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीले १०० बराबरका ८० को अनुपातमा मर्जरमा जान सहमति जनाएका थिए । जसअनुसार मर्जपछि लुम्बिनी जनरलको १०० कित्ता सेयर हुने सेयरधनीले सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् । त्यस्तै, मर्जपछि बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी हुने छ ।

हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १००ः८० को स्वाप रेसियोमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम पुँजीभन्दा कम हो । प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।

सिद्धार्थ र प्रिमियर

निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले पनि मर्जरमा जान प्रारम्भिक सम्झौता गरिसकेका छन् । यी कम्पनीले गत असार २७ गते बराबरी हैसियतमा एक आपसमा मर्ज हुने गरी सम्झौता गरेका हुन् । तर हालसम्म पनि यी कम्पनीको मर्जर प्रकृया भने टुङ्गि सकेको छैन ।

‘मर्जरको काम सेड्युल अनुसार नै भइरहेको छ, सबै प्रकया सकेर छिट्टै एकीकृत कारोबार गर्ने गरी मर्जर टीम लागिरहेको छ,’ प्रिमियर इन्स्योरेन्सका डीसीईओ सहदेव तिवारीले बताए ।

हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । १ बराबर १ को अनुपातमा मर्ज भएपछि बन्ने इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो ।

ज्योति लाइफ र सुर्या लाइफको कहिले ?

यता जीवन बीमा तर्फका दुई कम्पनी ज्योति लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्स पनि मर्जरको अन्तिम चरणमा पुगिसकेका छन् । अब खाली कम्पनी रजिष्ट्रारको काम मात्र बाँकी रहेको ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री बताउँछन् ।

मर्जरमा जान गत असार १२ गते प्रारम्भिक समझदारी गरेका यी दुई कम्पनी एक बराबर ०.८२४५ को अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जपश्चात बन्ने कम्पनीको नाम सुर्यज्योति लाइफ इन्स्योरेन्स हुनेछ । त्यसैगरी, मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सुर्याका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

हाल ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ र सुर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । १ बराबर ०.८२४५ को अनुपातमा मर्ज भएपश्चात बन्ने सुर्यज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी करिब ४ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

प्राइम, गुराँस र युनियन लाइफ

जीवन बीमा कम्पनीमध्ये प्राइम, गुराँस र युनियन लाइफले सबैभन्दा पहिले मर्जर सम्झौता गरेका हुन् । यी कम्पनीले गत बैशाख २९ गते नै एक आपसमा गाभिने सम्झौता गरेका थिए । तर हालसम्म पनि यी कम्पनीले मर्जरको प्रकृया टुङ्गाउन सकेका छैनन् । भ्यालुएसनको कामले नै मर्जरको काम सक्न ढिलाई भइरहेको एक कम्पनीको उच्च श्रोतले बतायो ।

‘मर्जरको प्रकृया अगाडि बढी रहेको छ, गुराँस लाइफको आर्थिक वर्ष २०७७/७८ को भ्यालुएसन हुन बाँकी छ, त्यो स्वीकृत हुने बित्तिकै भइहाल्छ,’ ती श्रोतले विकासन्युजसँग भन्यो ।

उनका अनुसार प्राइम लाइफ र युनियन लाइफको भने उक्त आवको भ्यालुएसनको काम सम्पन्न भइसकेको छ ।

कम्पनीहरुको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड रुपैयाँ, युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब २३ करोड रुपैयाँ छ । तीन वटै बीमा कम्पनी १ बराबर १ को अनुपातमा गाभिए चुक्ता पुँजी कूल ७ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, मर्जरपछि बन्ने कम्पनीको नाम, अध्यक्ष, सीईओ लगायतको विषयहरुको पनि टुङ्गो लागिसकेको छैन ।

प्रभु र महालक्ष्मी

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि मर्जर प्रकृयामा छन् । मर्जरमा जान गत असार ३० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका यी दुबै कम्पनीले मर्जर प्रकृया अघि बढाइरहेका छन् ।

‘दुबै कम्पनीको एक्चुरीको भ्याल्युएसन पास भइसकेको छैन, यो पास भइसकेपछि मर्जर प्रकृया अघि बढ्छ, अन्य आन्तरिक काम त भइरहेको छ,’ प्रभु लाइफका सीईओ सन्तोष पर्साईंले बताए ।

यी दुबै कम्पनी बराबरी हैसियत (स्वाप रेसियो १ः१) मा मर्ज हुन लागेका हुन् । मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ । मर्जपछि बन्ने कम्पनीमा अध्यक्ष प्रभु लाइफका सुभाव अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने भएका छन् । त्यस्तै, मर्जर पछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

रिलायन्स र सानिमा लाइफ

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स पनि मर्जरको अन्तिम चरणमा छन् । यी दुई कम्पनी समान हैसियत अर्थात स्वाप रेसियो १ बराबर १ को अनुपातमा मर्ज हुन लागेका हुन् । सो सम्बन्धमा दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

यद्दपि, मर्जर प्रकृयामा रहेका सबै कम्पनीहरुले नेपाल बीमा प्राधिकरणले दिएको समय भित्रमा काम सक्ने गरी अघि बढीरहेका छन् । प्राधिकरणले २०७८ चैतभित्रमा तोकिएको पुँजी पुर्याउन जीवन र निर्जीवन बीमा दुबैलाई निर्देशन दिएको छ । जसअनुसार जीवन बीमाले न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले न्यूनतम साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने छ । उक्त पुँजी पुर्याउनको लागि नै अधिकांश कम्पनीले मर्जरको बाटो रोजेका हुन् ।

Share News