काठमाडौं । लघुबीमा कम्पनीले विभिन्न ८ वटा क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । लघुबीमा व्यवसाय सञ्चालन गर्ने जीवन र निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा कम्तीमा ५ प्रतिशतभन्दा बढी लगानी गर्न पाउने भएका हुन् ।
नेपाल बीमा प्राधिकरणले लघुजीवन तथा निर्जीवन बीमकको लगानी निर्देशिका सार्वजनिक गर्दै कम्पनीहरुलाई विभिन्न क्षेत्रमा लगानी गर्न शर्तसहित लगानीको सीमा समेत तोकिदिएको हो ।
जसमध्ये वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा कम्तीमा ३० प्रतिशत लगानी गर्नैपर्ने छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने), बन्ड, डिबेन्चर र ऋणपत्रमा भने बढीमा ३० प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने छ । तर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी हुनेगरी लगानी गर्न पाइने छैन ।
यता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्रमा कूल लगानीको कम्तीमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् । यदि यो क्षेत्रमा लगानी गर्न नसकेमा वाणिज्य बैंक वा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा भने लगानी गर्नुपर्ने छ ।
त्यस्तै, धितोपत्र विनिमय बजारमा सूचीकृत कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा कूल लगानीको बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाइने सीमा छ ।
त्यस्तै, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति र सेयर बजारमा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने व्यवस्था छ । त्यसैगरी, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति र नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाइने छ ।
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीले यी क्षेत्रबाहेक अन्य क्षेत्रमा भने लगानी गर्न नपाउने भएका छन् । त्यस्तै, सहायक कम्पनीमा लगानी गर्नुअघि प्राधिकरणको स्वीकृति भने लिनु पर्ने व्यवस्था छ ।
तोकिएको सीमाभन्दा कम वा बढी लगानी गरेमा के हुन्छ ?
लघुबीमा कम्पनीहरुले बीमा प्राधिकरणले तोकिदिएको लगानी सीमा प्रत्येक दिन कायम गर्नुपर्ने छ । यदि कुनै कारणले तोकिएको सीमाभन्दा कम वा बढी लगानी भएमा सीमा नाघेको तीस कार्यदिनभित्र त्यस्तो लगानीलाई सीमाभित्र ल्याई सक्नु पर्ने प्राधिकरणको निर्देशन छ । तर मुद्दति निक्षेप वा डिबेन्चरमा गरिएको लगानी परिपक्व नभएसम्म सो रकम बराबरको लगानी यस निर्देशन बमोजिम भएको मानिने समेत प्राधिकरणले खुलाएको छ ।
बैंक तथा वित्तीय संस्थामा लगानी गर्न तीन शर्त
लघुबीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा कम्तीमा तीन वटा शर्त पालना गर्नुपर्ने छ । राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको, तोकेको सीमाभन्दा बढी निष्कृय कर्जा नरहेको र शीघ्र सुधारात्मक कारवाहीमा नपरेको हुनुपर्ने छ ।