अब टिमुर र मेन्था खेतीको पनि बीमा हुने, बीमाशुल्क ५ प्रतिशत मात्रै, दुई लाखको दुर्घटना बीमा सुविधा

<p>काठमाडौं । अबदेखि टिमुर र मेन्था खेतीको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणले ‘टिमुर खेती बीमालेख’ र ‘मेन्था खेती बीमालेख’ जारी गर्दै उक्त खेतीको पनि बीमा हुने व्यवस्था गरेको हो । प्राधिकरणका अनुसार यो दुबै बीमालेख बीमाशुल्क भुक्तानी गरेपछि मात्रै शुरु हुने छ । बीमालेखको अवधि टिमुर तथा मेन्था खेती बीमालेख जारी [&hellip;]</p>

काठमाडौं । अबदेखि टिमुर र मेन्था खेतीको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणले ‘टिमुर खेती बीमालेख’ र ‘मेन्था खेती बीमालेख’ जारी गर्दै उक्त खेतीको पनि बीमा हुने व्यवस्था गरेको हो ।

प्राधिकरणका अनुसार यो दुबै बीमालेख बीमाशुल्क भुक्तानी गरेपछि मात्रै शुरु हुने छ ।

बीमालेखको अवधि
टिमुर तथा मेन्था खेती बीमालेख जारी गर्दा घण्टा र मिनेटसम्म खुल्ने गरी समय उल्लेख गर्नुपर्नेछ । बीमालेख जारी भएको मिति र जोखिम शुरु भएको मिति फरक हुने गरी बीमालेख जारी गर्न पाइने छैन । टिमुर बीमालेखको अवधि एक वर्ष मेन्था बीमालेखको अवधि ४ महिनाको हुने छ । टिमुरको खेतीको बीमा २० वर्ष उमेरसम्मको बोटको गर्न सकिन्छ ।

आंशिक बीमा गर्न नपाइने
एउटै क्षेत्रफलमा लगाइएको टिमुर खेतीको आंशिक रुपमा बीमा गर्न पाइने छैन ।

टिमुर खेतीको बीमा लागत र उत्पादनको आधारमा गर्न सकिनेछ । त्यस्तै, बीमालेख बमोजिम गरिने टिमुर खेतीको बीमाशुल्क गणना गर्दा लागतको आधारमा ३ प्रतिशत र उत्पादनको आधारमा ५ प्रतिशत बीमाशुल्क लाग्ने छ । मेन्था खेतीको बीमाशुल्क गणना गर्दा कच्चा पदार्थ उत्पादनको आधारमा ४ प्रतिशत र सुगन्धित तेल उत्पादनको आधारमा ५ प्रतिशत बीमाशुल्क लाग्नेछ ।

त्यस्तै, बीमालेख जारी भइसके पश्चात बीमांक रकम परिवर्तन गर्न पाइने छैन । बीमा अवधिभित्र टिमुर खेती थप गर्नु परेमा थप खेतीको लागि छुट्टै बीमालेख जारी गर्नुपर्ने छ ।

तीन महिनापछि मात्र बीमा
टिमुर खेतीको बीमा बेर्ना रोपेको तीन महिनापछि बीमा गर्नुपर्ने छ । उक्त खेती समुन्द्र सतहबाट एक हजारदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाईमा खुकुलो बलौटे माटोमा गर्नुपर्ने व्यवस्था छ ।

यो बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट टिमुर खेतीको क्षति भएमा क्षति भएको तीन दिनभित्र बीमितले बीमकलाई जानकारी गराउनु पर्ने छ ।

बीमा अवधिभित्र बीमा गरिएको टिमुर खेतीमा ८० प्रतिशतभन्दा बढी क्षति भएमा पूर्ण क्षति (टोटल लस) अनुसार दावी भुक्तानी गरिने छ ।

२ लाखको दुर्घटना बीमा

यो बीमालेख अन्तर्गत किसानको २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको सुविधा समेत रहेको छ । आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी रिढंको हड्डी काम नलाग्ने भएमा, एक हातको नाडीदेखि माथि पुरै हात काम नलाग्ने भएमा, कुनै एउटा खुट्टाको गोलीगाँठोदेखि माथि पुरै खुट्टा काम नलाग्ने भएमा र दुबै आँखाको दृष्टि गुमेमा कम्पनीले बीमितलाई सो मात्राको भुक्तानी गर्नेछ ।

Share News