यस कारण बढ्दैछ बीमा सरेन्डर

<p>‘दुई अर्बको व्यापार र एक अर्बको सरेन्डर हैन हौ यी जीवन बीमाहरुले के व्यापार गर्छन् ।’ यो हो एक बीमा विज्ञको स्ट्याटस् । जुन समय सान्दर्भिक छ । उनको स्ट्याटसलाई प्रतिक्रिया दिँदै एक व्यक्तिले भनेका छन् ‘समय खराब छ, त्यसैले होला ।’ वास्तवमै भन्नु पर्दा अहिलेको अर्थतन्त्रको प्रतिबिम्ब बीमा क्षेत्रमा परेको प्रष्ट देखिन्छ । पछिल्लो [&hellip;]</p>

‘दुई अर्बको व्यापार र एक अर्बको सरेन्डर
हैन हौ यी जीवन बीमाहरुले के व्यापार गर्छन् ।’

यो हो एक बीमा विज्ञको स्ट्याटस् । जुन समय सान्दर्भिक छ । उनको स्ट्याटसलाई प्रतिक्रिया दिँदै एक व्यक्तिले भनेका छन् ‘समय खराब छ, त्यसैले होला ।’

वास्तवमै भन्नु पर्दा अहिलेको अर्थतन्त्रको प्रतिबिम्ब बीमा क्षेत्रमा परेको प्रष्ट देखिन्छ । पछिल्लो समय जीवन बीमा क्षेत्रमा सरेन्डर अर्थात बीमा पोलिसी त्याग्नेको दर बढ्दो छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्दा पछिल्लो एक महिनामै कूल एक अर्ब ११ करोड बढीको बीमा पोलिसी सरेन्डर भएका छन् । जुन अघिल्लो महिनाको तुलनामा ३४ करोड ६५ लाख रुपैयाँले बढी हो । असोजको तुलनामा कात्तिकमा मात्रै साढे ७ हजार बीमितले बीमा पोलिसी त्यागेका छन् ।

समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको बीमा सरेन्डर उच्च छ । कम्पनीबाट एक महिनामै ३९ करोड ९ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएका छन् । उक्त महिनामा कम्पनीले एक अर्ब २४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, कार्त्तिकमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । जसले एक महिनामा २ अर्ब ८६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । सो महिनामा कम्पनीबाट २८ करोड ८४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ ।

यी तथ्यांकले जीवन बीमा कम्पनीहरुले गर्ने बिजनेसमा प्रश्न उठेको छ । बजारमा नयाँ कम्पनीहरु आएसँगै पुरानालाई जसरी पनि आफूले बिजनेस गरेको देखाउनु पर्ने होडबाजी छ । जसले गर्दा अन्डरराइटिङ राम्रो नगरी, बुझ्दै नबुझी बीमा पोलिसी किनबेच भइरहेको जानकारहरु बताउँछन् । त्यसको फलस्वरुप बीमा सरेन्डर गर्नेहरु बढी रहेको जानकारको भनाई छ ।

नेपालमा जसले बढी बीमाशुल्क संकलन गर्यो त्यो कम्पनीलाई नम्बर वान भनिन्छ । यसले बीमा क्षेत्रमा विकृति ल्याउन सहयोग पुर्याएको छ । किनभने सर्वाधिक प्रिमियम संकलन गर्नेको होडबाजीमा कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको पाइन्छ । र, उनीहरुले अन्डर्राइटिङमा ध्यान दिन नदिँदा सरेन्डरदर बढ्न पुगेको जानकारहरु बताउँछन् । जुन बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्कले नै पुष्टि गरेको छ ।

नेपाल बीमा प्राधिकरणले जति नै कडाइ गरेपनि बीमा पोलिसी सरेन्डर दर भने घट्न सकेको छैन । प्राधिकरणको नयाँ व्यवस्था अनुसार बीमितले बीमालेख खरिद गरेको मितिले कम्तीमा तीन वर्षसम्म सरेन्डर गर्न पाउने छैनन् । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो ।

‘शुरुमा कतिपय मान्छेले बीमा भनेको के हो बुझेका हुँदैनन्, अभिकर्ताले जे भन्यो त्यहि पत्याइदिन्छन्, उनीहरुले बीमा भनेको जोखिम बहन गर्ने हो भन्ने हिसावले गरेका हुँदैनन्, त्यसपछि एक दुई वर्षपछि बीमा गर्ने बीमितले बल्ल बीमा के हो भन्ने बुझ्दै जान्छन्, पछिपछि बुझ्दै गएपछि उनीहरुले बीमा पहिले भनेको जस्तो होइन रहेछ भन्ने बल्ल थाहा पाउँछन्, १० लाखको पनि बीमा गर्न नसक्नेलाई करोडौंको बीमा गराइदिएको हुन्छ, जसको बीमाशुल्क तिर्न सक्दैनन्, अनि त्याग्न बाध्य हुन्छन्,’ एक बीमा जानकारले बताए ।

बीमा जानकारहरूको अनुसार सरेन्डर बढ्नुको मुख्य कारण अन्डरराइटिङ स्ट्याण्डर्ड नभएरै हो । कतिपयले मेडिकल डकुमेन्ट पनि नक्कली बनाएका हुन्छन् । पछिल्लो समय भने बैंकदर एकदमै हाई छ । अहिले बैंकहरुले मुद्दति निक्षेपमै १०/११ प्रतिशत दिइरहेका छन् । त्यसैले ५/६ वर्षमा त बैंकमै राखेको पैसा डबल हुने लोभमा बीमितहरु बैंकतिर लागेका हुन् की भन्ने अधिकांशको अनुमान छ ।

‘बीमा भनेको जोखिम बहन हो, लगानी होइन’ भन्ने हिसावले गराएको बीमा भए लामो समयसम्म टिक्ने जानकारहरु बताउँछन् । तर बीमा भनेको पनि पैसा कमाउने हो, लगानी गरे फाइदा हुन्छ भन्ने हिसावले गराएको बीमामा पछि भनेजति फाइदा नहुने देखेपछि बीमितहरु पन्छिन थाल्ने बताउँदै अर्का जानकारले भने- ‘तोकिएको समयसम्म त प्रिमियम तिरेरै बस्छन्, त्यसपछि भने आफूले गरेको लगानी कमसेकम नडुबोस् भन्ने हिसावले बीमितहरु बाहिरिने गर्छन् ।’

पछिल्लो समय बीमा प्राधिकरणले नयाँ-नयाँ कम्पनी अर्थात लघुबीमालाई लाइसेन्स दिइरहेको छ । यी कम्पनीले ५ लाख रुपैयाँसम्मको बीमा गर्न पाउने व्यवस्था बन्दैछ । नयाँ कम्पनी आएसँगै पुराना कम्पनीलाई के हुन्छ कसो हुन्छ भन्नेमा अनिश्चितता बढेको छ । यसको पनि केही प्रभाव परेको बुझिन्छ ।

किन बढ्दैछ बीमा सरेन्डर ?

बीमा गराउँदा नै राम्रोसँग बुझेर, अन्डरराइटिङ गर्दा ध्यान दिएर बीमा गराएका कम्पनीहरुमा सरेन्डरदर कम हुन्छ । तर जथाभावी अन्डरराइटिङ गर्ने कम्पनीमा सरेन्डर दर बढ्न पुग्छ । बीमितको सधैँ एउटै मानसिकता नहुने भएकाले पनि सरेन्डर बढेको ज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री बताउँछन् । ‘बीमालेख खरिद गर्दा एक मानसिकताले खरिद गर्ने र पछि उक्त मानसिकतामा परिवर्तन आउने भएपछि बीमितहरुले सरेन्डर गर्ने गरेको पाइन्छ,’ सीईओ खत्रीले बताए ।

वास्तविक रुपमा बीमाको काम नगर्दा यो क्षेत्रमा विकृति बढ्दो छ । अर्को, इन्भेष्टमेन्टको रिटर्नको हिसावले बीमालाई जोडेको भएर र बढ्दो बैंकदरले बीमामा सरेन्डर गर्नेको संख्या बढेको बीमा क्षेत्रका एक विज्ञले बताए ।

‘नेपालमा बीमाका एजेन्सीलाई तालिम दिँदा नै गलत प्रविधिको तालिम दिइन्छ, बीमा भनेको जोखिम बहनको लागि हो भनेर बीमाको जानकारी दिनुभन्दा पनि बीमा गर्दा तिमीहरुलाई फाइदा हुन्छ, यति प्रतिशत कमिसन आउँछ, जसरी हुन्छ बिजनेस ल्याउ भन्ने हिसाबले बीमा गराइएको छ,’ विकासन्युजसँग बोल्दै उनै विज्ञले भने- ‘यो फ्यासिलिटेट गर्नलाई आम्दानी प्रुफ पनि नहेर्ने, मेडिकल स्टेटमेन्ट नक्कली होकी सक्कली केही नहेर्ने, अझ कतिपय कम्पनीका एजेन्टले डाक्टरको नम्बर भएको छाप बोकेर हिड्ने गरेको सुनिन्छ, यस्ता लापरवाही काम गरेपछि त सरेन्डर बढीहाल्छ ।’

बीमितलाई नै घाटा

बीमामा हुन सरेन्डरले बीमा कम्पनी घाटामा पर्दैन । घाटा बीमितलाई नै हुन्छ । किनभने बीमितले बीमालेख खरिद गर्दा जति वर्षको लागि भनेर खरिद गरेको हो, त्योभन्दा अगाडि नै सरेन्डर गर्यो भने बीमा कम्पनीले उसलाई डिस्काउन्ट गरेर पैसा फिर्ता दिने व्यवस्था छ । कम्पनीले एजेन्टलाई दिने पैसा पनि बीमाको प्रिमियममै जोडेर लिने गर्छ । अनि जथाभावी खर्च गरेकोमा कम्पनीका लगानीकर्ताले नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । अन्ततः यसको घाटा बीमितहरुलाई नै हो ।

ज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री पनि बीमा सरेन्डर गर्दा घाटा बीमितलाई नै हुने बताउँछन् । र, बीमा गरेको अवधि पुरा नभई बीचैमा छोड्दा आउने जति पनि लसहरु हुन्छन् त्यो बीमितले नै व्यहोर्नुपर्ने उनको भनाई छ ।

समाधान गर्ने होला त उपाय ?

सरेन्डर भनेको बीमा कम्पनीको प्रडक्टको विशेषता नै हो । यो पोलिसीमा नै हुने गर्छ । तर पनि यसलाई रोक्न आवश्यक रहेको ज्योति लाइफका सीईओ खत्री बताउँछन् ।

त्यस्तै, बीमा क्षेत्रका सरोकारवालाहरुले चाहने हो भने बीमामा बढ्दो सरेन्डरको नियन्त्रण सजिलै गर्न सकिने प्राइम लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टाराई बताउँछन् ।

‘कुनै पनि कम्पनीले गरेको बिजनेसलाई त्यो बिजनेसको आधार के ? केको आधारमा बिजनेसमा ग्रोथ आयो ? यस विषयमा कम्पनीले बेचेको पोलिसीहरुको विशेष अनुगमन गर्ने । वा बीमा प्राधिकरणले एडिटरलाई नै निर्देशन दिएर ५० लाखभन्दा बढीको बीमा भएको अवस्थामा त्यसको डकुमेन्टहरुको प्रमाणीकरण गरेर, अन्डर्राइटिङ स्ट्याण्डर्डहरुदेखि लिएर सबै प्रकृयाहरु ठीक छ या छैन चेक गराउने व्यवस्था भयो भने यो सजिलै नियन्त्रण हुन्छ,’ भट्टराईले बताए ।

बीमामा बढ्दो सरेन्डरकोको नियन्त्रण गर्ने नियामक निकाय पनि त्यत्तिकै इमान्दार हुनुपर्यो र कम्पनीका सीईओहरुले पनि बीमितको हितमा काम गर्ने सोचका साथ अघि बढ्नुपर्ने पूर्वसीईओ भट्टराईको भनाई छ ।

‘गर्नेले गर्छ र गराउनेले गर्छ भन्ने हिसावले लागियो भने जे गर्दा पनि नियन्त्रण हुँदैन । तर यो गलत भयो, नेपाली कम्पनीहरुबाटै नेपाली नै ठगिनु हुँदैन, दुःख पाउनु हुँदैन भन्ने मान्यता राखेर केही गरौं भन्ने हिसावले लागियो भने नियन्त्रण गर्नको लागि प्रशस्त उपायहरु छन्, होइन भने जस्तो बिउँ रोप्यो त्यस्तै फल फल्छ भनेजस्तै हो,’ उनले थपे ।

के भन्छ नियामक ?

नियामक निकाय नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल भने पछिल्लो समय मान्छेसँग पैसाको कमी भएकाले बीमा पोलिसी त्याग्नेको संख्या बढेको बताउँछन् । साथै, अहिलेको सरेन्डर तत्काल बीमा गर्नेहरुले नभई पुराना बीमितहरुले गरेको उनको भनाई छ ।

‘बीमा गरेपछि सरेन्डर गर्न पाउनुपर्छ तर एक ठाउँमा बीमा गरेर कमिसन खायो अनि कमिसनको लागि नै अर्को ठाउँमा बीमा गर्ने विकृतिलाई भने रोक्नुपर्छ,’ विकासन्युजसँग बोल्दै पौडेलले भने- ‘यसको लागि प्राधिकरणले तीन वर्षसम्म बीमा पोलिसी त्याग्न नपाउने व्यवस्था गरिसकेको छ ।’

Share News