काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स आजबाट एक हुँदै छन् । मर्जर प्रकृयामा रहेका दुबै कम्पनीले आज (पुस ७ गते) बाट एकीकृत कारोबार शुरु गरी औपचारिक रुपमा एक हुन लागेका हुन् ।
दुई कम्पनीबीचको यो मर्जर जीवन बीमा क्षेत्र कै पहिलो हो । जसले जीवन बीमा क्षेत्रमा नयाँ इतिहास राख्न सफल भएको छ । यद्दपि, बीमा क्षेत्रमा भने यो तेश्रो मर्जर हो ।
ज्योति लाइफ र सूर्या लाइफ मर्जरपश्चात सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दै छन् । मर्जरमा जान गत असार १२ गते प्रारम्भिक समझदारी गरेका यी दुई कम्पनी एक बराबर ०.८२४५ को अनुपातको रेसियोमा मर्ज भएका हुन् । त्यसैगरी, कम्पनीको सञ्चालक समितिको अध्यक्षमा केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री र सूर्या लाइफका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भएका छन् ।
हाल ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । १ बराबर ०.८२४५ को अनुपातमा मर्ज भएपश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी करिब ४ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । बाँकी पुँजी भने कम्पनीले बोनस या हकप्रद सेयर मार्फत पुर्याउने योजना बनाएको छ ।
यस्तो बन्यो सूर्यज्योति लाइफ
मर्जपछि सूर्यज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी साढे ४ अर्ब नाघेको छ । जुन १ बराबर ०.८२४५ को स्वाप रेसियोमा समायोजन पश्चात कायम भएको पुँजी हो ।
जीवन बीमा कोषको आकार बढेर २१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार सूर्या लाइफको १४ अर्ब ९२ करोड र ज्योति लाइफको जीवन बीमाकोषको आकार ७ अर्ब ४ करोड रुपैयाँ छ ।
त्यस्तै, कूल प्रिमियम अर्थात बीमाशुल्क २ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । जसमा सूर्या लाइफको एक अर्ब ७१ करोड र ज्योति लाइफको १ अर्ब १८ करोड रुपैयाँ छ ।
कार्त्तिकसम्म सूर्या लाइफले ५३ करोड १८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ भने ज्योति लाइफले ४१ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, मर्जपछि बनेको कम्पनीको प्रथम बीमाशुल्क ९४ करोड ५६ लाख रुपैयाँ हुने छ ।

यसैगरी जगेडा कोषको आकार बढेर करिब पौने २ अर्ब पुगेको छ । हाल सूर्याको ७१ करोड २२ लाख र ज्योतिको १ अर्ब ३ करोडको जगेडा कोष छ ।
त्यस्तै, सूर्यज्योति लाइफको बीमालेख संख्या कूल ४ लाख ४३ हजार नाघ्ने छ । जीवन बीमा योजना कूल २५ वटा, शाखा संख्या २३१ र कर्मचारी संख्या (समायोजन नभए) ६३४ पुगेको छ ।
हाल सूर्या लाइफको मोरङको विराटनगर महानगरपालिका ७ मा रजिष्टर्ड कार्यालय र काठमाडौंको सानो गौचरनमा कर्पोरेट कार्यालय छ भने ज्योति लाइफको पोखरा महानगरपालिका ९ मा रजिष्टर्ड कार्यालय र काठमाडौंको ज्ञानेश्वरमा कर्पोरेट कार्यालय छ ।
यसकारण भए मर्ज
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) बाट जीवन बीमा कम्पनीहरुले २०७९ चैत मसान्तसम्ममा चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउने पर्ने निर्देशनसँगै दुई कम्पनी एक आपसमा मर्जरमा जान तयार भएका हुन् । चुक्ता पुँजी पुर्याउनको लागि मर्जरको बाटो राजेका दुबै कम्पनीले प्रारम्भिक सम्झौता गरी २०७९ कार्त्तिक ४ गते अन्तिम सम्झौता गरेका हुन् ।
दुई कम्पनीले २०७९ मंसिर महिनाभित्र नै एकीकृत कारोवार शुरु गर्ने गरी समझदारी गरेका थिए । तर कम्पनी रजिष्ट्रारको कामले गर्दा पुसको पहिलो सातासम्म लम्बिन पुगेको कम्पनीका सीईओ प्रकाश बिक्रम खत्री बताउँछन् ।
उत्कृष्ट जीवन बीमा कम्पनी बन्ने
मर्जरपश्चात बन्ने कम्पनी एक उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा स्थापित हुनेमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई विश्वस्त छन् । अध्यक्ष दुबै कम्पनी एक आपसमा गाभिए पश्चात् विशेष रणनीतिक योजनाहरुको बनाई त्यसको प्रभावकारी कार्यान्वयन गरी जीवन बीमा क्षेत्रमा देशकै एक अग्रणी संस्थाका रुपमा स्थापित हुने उनको लक्ष्य छ ।
‘बीमा बजारको आवश्यकता अनुसारका नयाँ र प्रभावकारी जीवन बीमा योजनाहरु ल्याउने, कम्पनीको जीवन बीमा व्यवसायको विकासमा प्रत्यक्ष भूमिकामा रहेका अभिकर्ताहरुको संख्या वृद्धि तथा दक्षता अभिवृद्धि गर्न थप जोड दिन्छौं । देशव्यापी रुपमा अभिकर्ता तथा कर्मचारीहरुको लागि तालिम कार्यक्रम तथा पुनर्ताजगीकरण कार्यक्रमहरु सञ्चालन गर्ने, अभिकर्ताहरुको क्रियाशिलताका लागि बजार विभाग सम्बद्ध शाखा तथा कर्मचारीहरुलाई परिचालन गर्ने कार्यलाई थप प्रभावकारी बनाउँछौं,’ अध्यक्ष भट्टराईले भने ।
त्यस्तै, बीमा व्यवसायबाट कम्पनीका बीमित तथा लगानीकर्ता शेयरधनीहरुलाई उच्च प्रतिफल दिन अधिकतम प्रयास गरिने उनले बताए । कम्पनीको व्यवसाय अझै विस्तार गर्नुका साथै बीमा व्यवसायको पहुँच दूरदराज र ग्रामीण भेगसम्म विस्तार गर्ने, नवीन तथा आधुनिक प्रविधिको प्रयोगमा विशेष जोड दिने उनको भनाई छ ।
त्यस्तै, कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का पनि दुई कम्पनी मर्जपश्चात जीवन बीमा क्षेत्रको एक सबल, उत्कृष्ट तथा अग्रणी कम्पनीको रुपमा अगाडि बढ्नेमा विश्वस्त छन् । यता कम्पनीका सीईओ प्रकाश बिक्रम खत्रीले पनि कम्पनीलाई नयाँ उचाईंमा पुर्याउने प्रतिवद्धता गरेका छन् ।