काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिरसम्ममा ११ अर्ब २७ करोड ८ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमै सो मात्राको प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार १९ वटा कम्पनीहरुले बीमालेख बिक्रीबाट सो मात्राको प्रथम प्रिमियम उठाउन सफल भएका छन् । कम्पनीहरुले मंसिरमा मात्रै २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ उठाएका प्राधिकरणले जनाएको छ ।
मंसिरसम्ममा उठेको प्रथम बीमाशुल्कमध्ये दुई कम्पनीले अर्ब बढी उठाएका छन् । जसमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् ।
सर्वाधिक प्रथम बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सको नै अग्रता रहेको छ । बीमा प्राधिकरणका अनुसार इन्स्योरेन्सले चालु आवको ५ महिनामा २ अर्ब १४ करोड रुपैयाँ बराबरको उक्त बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दोश्रो स्थानमा नेशनल लाइफ रहेको छ । कम्पनीले मंसिरसम्ममा प्रथम बीमालेखबाट १ अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ ।
समीक्षा अवधिमा सन नेपाललाई पछि पार्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन अघि बढेको छ । प्रथम बीमाशुल्कको आधारमा कार्त्तिकमा तेश्रो स्थानमा रहेको सन नेपाल हाल चौथो स्थानमा झरेको छ । हाल तेश्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८३ करोड ५९ लाख र चौथो स्थानमा रहेको सन नेपाल लाइफले ८२ करोड १९ लाख रुपैयाँ प्रिमियम उठाएका छन् ।
त्यसपछि सिटिजन लाइफ, सूर्या लाइफ, रिलायबल नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्स क्रमशः पाँचौ, छैटौं, सातौं र आठौं स्थानमा नै छन् ।
त्यस्तै, यूनियन, मेट र ज्योति लाइफबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । मंसिरसम्ममा प्रथम बीमाशुल्क संकलन गर्नेका आधारमा युनियन, मेटलाइफ र ज्योति लाइफ इन्स्योरेन्स क्रमशः ९औं, १०औं र ११औं स्थानमा छन् । कार्त्तिमा भने ज्योति लाइफ ९औं स्थानमा थियो ।
कार्त्तिकमा १२ र १३ औं स्थानमा रहेका आइएमई लाइफ र सानीमा लाइफ मंसिरमा पनि सोही स्थानमा रहेका छन् । जसमध्ये आइएमई लाइफले ४२ करोड ७२ लाख र सानीमा लाइफले ३२ करोड ७९ लाख रुपैयाँ प्रथम बीमाशुल्क मंसिरसम्ममा संकलन गरेका छन् ।
प्राइमलाई उछिन्दै रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थान अघि बढेका छन् । प्रथम बीमाशुल्कको आधारमा कार्त्तिकमा १४औं स्थानमा रहेको प्राइम मंसिरमा १६औं स्थानमा झरेको छ ।
मंसिरसम्ममा रिलायन्सले ३१ करोड ७९ लाख र राष्ट्रिय बीमा संस्थानले ३१ करोड ५६ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, प्राइमले ३१ करोड १० लाख, प्रभुले २२ करोड ७६ लाख र महालक्ष्मीले १८ करोड ७५ लाख रुपैयाँ संकलन गरेका छन् ।
यता गुराँस लाइफले ८ करोड ७४ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा कम हो । कम्पनीले मंसिरमा मात्रै १ करोड ५० लाख रुपैयाँ बराबरको प्रिमियम प्रथम बीमाशुल्कबाट संकलन गरेको छ ।
हाल साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एकआपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् । यससँगै जीवन बीमा कम्पनीहरुको संख्या घटेर १८ वटामा सीमित भएको छ ।