१७ मंसिर । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा उपेन्द्र पौडेल निर्विरोध निर्वाचित हुने भएका छन् । संघको शुक्रबार बस्ने साधारणसभाले एनएमबी बैंकका कार्यकारी प्रमुख (सीईओ) पौडेललाई अध्यक्षमा निर्वाचित गर्ने भएको छ । पौडेल हाल उपाध्यक्ष छन् ।
नयाँ नेतृत्वका लागि मंगलबारसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएकोमा पौडेलबाहेक कसैले पनि मनोनयन नगरेपछि पौडेल अध्यक्ष हुने निश्चित भएको छ । हालका अध्यक्ष सीटीजन बैंकका सीईओ राजनसिंह भण्डारी रहेका छन् । उनले अर्को कार्यकालका लागि मनोनयन दर्ता गराएका छैनन् । अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ ।
यसैगरी, दुई उपाध्यक्षमध्ये एकका लागि मेगा बैंकका सीईओ अनिल शाहले मनोनयन दर्ता गरेका छन् । हाल संघमा एउटा उपाध्यक्ष पद खाली छ । ग्रान्ड बैंकका सीईओ सुधिर खत्री बाहिरिएपछि उनको पद रिक्त छ । सबैको कार्यकाल दुई दुई वर्ष हुने भएकाले रिक्त हुने पद संघको कार्यकारिणी सभा बसेर पूर्ति गर्ने गरिन्छ ।
संघको आठ सदस्यमा ग्लोबल आईएमई बैंकका सीईओ रत्नराज बज्राचार्य, नबिल बैंकका सीईओ अनिल ज्ञवाली, बैंक अफ काठमाण्डूका सीईओ अजय श्रेष्ठ, सनराइज बैंकका सुरेन्द्रमान प्रधान (हालै राजीनामा दिएका), सिभिल बैंकका किशोर महर्जन, राष्ट्रिय वाणिज्य बैंकका कृष्णप्रसाद शर्मा, स्ट्यान्डर्ड चार्टर्ड बैंकका पीजे सिलभानुस र सानिमा बैंकका भुवन दाहाल रहेका छन् ।