काठमाडौं, १९ असोज । हिमालयन बैंकले मंगलबार सम्म ५ हजार ५६५ जना भूकम्प पीडितलाई नीजि आवास पुनःनिर्माण अनुदान वितरण गरेको छ ।
बैंकले २०७३ जेष्ठमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग गत वर्षको भूकम्पमा क्षति भएका निजि आवास पुनःनिर्माणका लागि अनुदान वितरण गर्ने सम्झौता वमोजिम बैंकको उपत्यका बाहिरका ७ वटा जिल्ला शाखाहरुमा १३ हजार ९१७ वटा लाभग्राहीहरुको खाता खोलिसकेको छ ।
बैंकमा हालसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ३९ करोड ५ लाख ५० हजार रुपैयाँ प्राप्त भई ७ हजार ८११ वटा खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । बैंकमा खोलिएको खाता मध्येबाट हालसम्म ५ हजार ५६५ जना लाभग्राहीहरुले रकम बुझिसकेका छन् ।
बैंकले सकेसम्म छिटो भन्दा छिटो अनुदान वितरण गर्न सम्बन्धित जिल्ला विकास समिति तथा गा.वि.स. सचिवहरुसँग समन्वय गरी हरेक दिन विहान १० बजे देखि ४ बजे सम्म राहत वितरण गर्ने छ । साथै, यसै महिना देखि विदाको दिनमा पनि राहत वितरण गर्ने बैंकले जनाएको छ ।
बैंकले भूकम्प प्रभावित जिल्लामा नुवाकोटको बट्टार, रसुवाको वेत्रावती, धादिङ्गको धादिङ्गवेंशी, मकवानपुरको हेटौंडा, काभ्रेको बनेपा, सिन्धुपाल्चोकको वाह्रविसे तथा गोर्खा जिल्लाको गोर्खा नगरपालिकामा रहेका शाखाहरुबाट अनुदान वितरण गरिरहेको छ ।