काठमाडौं । खानेपानी मन्त्रालयले सिंहदरबारभित्र अटोमेटिक (सेन्सर) धारा निर्माण गर्ने भएको छ । दुरदराजबाट सिंहदरबार आउने सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालयले सुरुवाती चरणमा चार स्थानमा धारा निर्माणको तयारी भएको जनाएको छ ।
मन्त्रालयका सचिव मणिराम गेलालले सुरुवाती चरणमा ४ स्थानमा छिट्टै अटोमेटिक धारा स्थापना गरिने बताए ।
‘हामीले यही साता धारा जडानसक्ने लक्ष्य लिएका थियौं, धारा जडान गर्न भन्दा पनि धाराबाट निस्कने पानीको व्यवस्थापनमा केही समय लाग्ने भएर जडान भएन, अब २/३ दिनभित्रै सिंहदरबारभित्र धारा जडान भैसक्छन्,’ उनले भने ।
मन्त्रालयले धारा निर्माणको सम्पूर्ण जिम्मा काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई दिएको छ । खानेपानी लिमिटेडले ५ लाख रुपैयाँ लगानीमा सिहंदरबारका ४ स्थानमा धारा जडान गर्न लागिएको जनाएको छ ।
सचिव गोलालले सिंहदरबारभित्र पूर्ण रूपमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइनबाट आएको पानी प्रयोग गर्नुपर्ने भन्दै जार र बोतलको पानी विस्थापन हुने बताए ।
सिंहदरबारभित्र पूर्ण रूपमा बोतल र जारको पानी निषेध गर्न लागेको बताउँदै पानीको पाइप नपुगेको मन्त्रालयमा सिंहदरबारभित्रै जारमा पानी भरेर लैजाने व्यवस्था गर्न लागेको बताए ।
खानेपानी मन्त्री अब्दुल खानले सिंहदरबारभित्र सबैले मेलम्चीको पानी पिउनुपर्ने बताए । उनले सिंहदरबार आएका सबै जनालाई खानेपानी उपलब्ध गराउन विभिन्न स्थानमा पानीका धारा जडान गर्न लागिएको बताए ।
‘अब प्रधानमन्त्रीले पनि मेलम्चीको पानी पिउनुपर्छ, प्रधानमन्त्रीलाई मेलम्चीको पानी पिलाएर सिंहदरबारभित्र जडान गरिएको धारा उद्घाटन गर्ने तयारीमा छौं,’ उनले भने ।
पहिलो चरणमा सिंहदरबार भित्र जडान हुने अटोमेटिक धारा विस्तार विमानस्थल, बसपार्क, सरकारी अस्पताल लगायत धेरै भिड हुने स्थानमा जडान गरिने उनले बताए ।
आफू मन्त्री भएपछि पहिलो उद्देश्यका रूपमा सिंहदरबारभित्र जार र बोतलको पानी निषेध गर्ने लक्ष्य राखेकोमा सो पूरा भएको बताउँदै अब सार्वजनिक धारा राख्ने दोस्रो उद्देश्य रहेको उनले बताए ।
यस्तै, उनले तेस्रो उद्देश्यका रूपमा नेपालभरि नै खानेपानी सर्वसुलभ रूपमा पुर्याउने र चौथो उद्देश्यको रूपमा नेपालको पानी खाडी राष्ट्रहरू साउदी अरब, दुबई, कतार देशमा कसरी निर्यात गर्न सकिन्छ त्यसबारेमा काम गर्न लागिपरेको बताए ।