‘घरजग्गा व्यवसायी डुब्न थाले, अझै कडा गर्दा अर्थतन्त्र खतरामा पर्न सक्छ’

<p>काठमाडौं । नेपाल जग्गा तथा आवश विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपालको घरजग्गा व्यवसायमा साढे ५ खर्बभन्दा बढी लगानी रहेको बताएका छन् । पछिल्लो समय देशको कूल लगानी ४८ खर्ब बढी रहेका बेला घरजग्गामा साढे ५ खर्ब रुपैयाँ मात्रै लगानी रहेको उनले बताएका हुन् । १३ वर्षको अवधिमा कूल लगानीमा ब्यापक वृद्धि भएपनि घरजग्गा व्यवसायमा [&hellip;]</p>

काठमाडौं । नेपाल जग्गा तथा आवश विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपालको घरजग्गा व्यवसायमा साढे ५ खर्बभन्दा बढी लगानी रहेको बताएका छन् । पछिल्लो समय देशको कूल लगानी ४८ खर्ब बढी रहेका बेला घरजग्गामा साढे ५ खर्ब रुपैयाँ मात्रै लगानी रहेको उनले बताएका हुन् ।

१३ वर्षको अवधिमा कूल लगानीमा ब्यापक वृद्धि भएपनि घरजग्गा व्यवसायमा भने थोरै मात्रै लगानी बढेको उनले बताए । उनका अनुसार कूल लगानीको घरजग्गामा ११ प्रतिशत लगानी पुगेको भएपनि सरकारले चासो दिएको छैन ।

‘२०६६ मा नेपालको कूल १३ खर्ब रुपैयाँ बराबरको लगानी रहेकोमा साढे ३ खर्ब लगानी घरजग्गामा थियो, अहिले कूल लगानी ४८ खर्ब भन्दा बढी पुगेको छ भने घरजग्गामा साढे ५ खर्ब मात्रै लगानी बढेको छ,’ उनले भने, ‘१३ वर्षको अवधिमा कूल ३५ खर्ब लगानी वृद्धि हुँदा घरजग्गामा २ खर्ब मात्रै बढेको छ, सरकारको नीतिका कारण घरजग्गामा लगानी बढ्न सकेन ।’

१३ वर्ष अघि २०६६ मा राष्ट्र बैंकले घरजग्गा व्यवसायमा कडाइ गर्दा ठूलो समस्या आएको बताउँदै खुकुलो गर्नुपर्ने उनको भनाइ छ । कर्जाको भ्यालुसेन नबढाउँदा घरजग्गा व्यवसाय ठप्प भएको उनले बताए । साथै घरजग्गा व्यवसायलाई व्यवस्थित रुपमा अघि बढाउन आग्रह गरे ।

‘व्यवस्थित रुपमा कम्पनी, ब्रोकरहरुलाई लाइसेन्स दिनुपर्याे भनेर वकालत गर्दै आएका छौं, २१ वर्ष अघि २०६८ सालमा घरजग्गा कारोबार ऐन ल्याउने तयारी थियो तर, विभिन्न कारणले रोकियो, ऐन नियम नहुँदा व्यवसायीहरुलाई समस्या परेको छ,’ उनले भने, ‘ब्रोकर र डेभलपरलाई छुट्टाछुट्टै क्याटागोरीमा राख्नुपर्छ, देशभरी १० हजार बढी घरजग्गा व्यवसायी कम्पनी दर्ता छन् ।’

सरकारले सकारात्मक नीति नियम ल्याएपछि आफूहरुले सहयोग गर्ने उनको भनाइ छ । उनले आर्थिक मन्दी घरजग्गाको कारण नआएको बताए ।

‘आर्थिक मन्दी घरजग्गाको कारण आएको होइन किनभने हाम्रो जस्तो देशमा घरजग्गा व्यवसाय चलायमान नहुँदा समग्र अर्थतन्त्रमा प्रहार गर्छ भन्ने प्रमाणित भएको छ, व्यवस्थित बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘घरजग्गा क्षेत्र अनुत्पादक क्षेत्र होइन, अर्थतन्त्रमा समस्या आयो भन्ने विद्धानहरु पनि अहिले आएर यो क्षेत्रलाई स्टिममा ल्याउनुपर्छ भनिरहनु भएको छ ।’

घरजग्गा व्यवसायलाई अझै कर्डा गर्याे भने अर्थतन्त्र नै खतरामा पर्ने उनको भनाइ छ । वि.सं. २०२८ सालमै देशका विभिन्न सहरहरुमा नगरविकास कार्यक्रम आयोजना ल्याएको भएपनि पछिल्लो समय सुस्ताएको उनले बताए । सरकारले व्यवस्थित आवाश निर्माणको लागि निजी क्षेत्रलाई जिम्मेवारी दिनुपर्ने उनको भनाइ ।

‘५५ वर्ष पुग्दा पनि उपत्यकामा २३ वटा मात्रै आयोजना सञ्चालमा छन्, जग्गा व्यवस्थापनको काम निजी क्षेत्रलाई दियो भने देशभरी व्यवस्थित आवाशको निर्माण गर्छाैं, घरजग्गामा गरिएको कडाइ खुकुलो नगरे अर्थतन्त्रमा झनै समस्या आउँछ,’ उनले भने ।

साथै, उनले घरजग्गा व्यवसायलाई सहज बनाएर मूल्यांकन बढाउन माग राखे । अधिकांश घरजग्गा व्यवसायी डुब्न थालेकाले घर जग्गाको कित्ताकाटको काम छिटो सलटाउन आग्रह गरे ।

Share News