काठमाडौं ५, मंसिर । स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरूमा आफ्नै फार्मेसी अनिवार्य रूपमा राख्नुपर्ने ताकेता गरिरहेको बेला सरकार मातहत रहेका अस्पतालले भने फार्मेसीबाट करोडौँ कमाउन सफल भएका छन् ।
१५ वर्षअघि स्थापना भएको गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीले एकै वर्षमा आठ करोड रुपियाँभन्दा बढी रकम कमाएको छ भने तीन वर्षअघि मात्र स्थापना भएको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रको फार्र्मेसीले ५० लाख रुपियाँ कमाउन सफल भएको छ ।
गङ्गालाल अस्पतालको फार्मेसी खर्च कटाएरै उक्त रकम कमाउन सफल भएको हो । अस्पतालका कार्यकारी निर्देशक डा। ज्योतिन्द्र शर्माले केन्द्रको फार्मेसीले मासिक औसत ६७ लाख रुपियाँ आम्दानी गर्ने गरेको जानकारी दिए। यस अस्पतालको खुद नाफा मात्र हो, कार्यकारी निर्देशक डा. शर्माले भने, ‘फार्मेसीमा मात्र अस्पतालले ३५ देखि ४० करोडसम्मको कारोबार गर्ने गरेको छ।’
मानव अङ्ग प्रत्यारोपणका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अस्पताल स्थापना भएको केही वर्षमै फार्मेसीबाट लाखौँ आम्दानी गर्न सफल भएको बताए। हामीले निजी फार्मेसीभन्दा ४० प्रतिशतसम्म कम मूल्यमा औषधि बिक्री गरिरहेका छौँ, निर्देशक श्रेष्ठले भने, ‘गत वर्षमात्र चार करोड २० लाख रुपियाँको कारोबार भएकोमा ५० लाख रुपियाँ आम्दानी गर्न सफल भएको छ । डा। श्रेष्ठले अस्पतालको फार्मेसीबाट औषधि किनेर बाहिर लगि निजी फार्मेसीबाट नाफा लिई बेचेको पाइएको जानकारी दिए।
यसैगरी गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले फार्मेसीबाट गत आर्थिक वर्ष ३८ करोड ८० लाख रुपियाँभन्दा बढीको कारोबार भएको जानकारी दिँदै त्यसबाट आठ करोड रुपियाँ नाफा भएको बताए।
यसैगरी गत वर्षमात्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको कान्ति बाल अस्पतालले पनि मासिक ३० लाख रुपियाँको कारोबार गर्दै आएको छ । अस्पतालका निर्देशक डा। अजित रायमाझीले सुरु वर्षमै फार्मेसीबाट अस्पतालले १० लाख रुपियाँ आम्दानी गर्न सफल भएको जानकारी दिए।
अस्पतालकै फार्मेसी हुँदा बिरामीलाई सहुलियतदरमा औषधि पाउन सकेको भन्दै निजी फार्मेसीमा भन्दा अस्पतालको फार्मेसीबाट २० देखि ५० प्रतिशतसम्म कम मूल्यमा औषधि पाउनसक्ने जानकारी दिए। यस्तै शिक्षण अस्पताल महाराजगन्ज, मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पनि वार्षिक पाँच करोडभन्दा बढी मुनाफा कमाउन सफल भएका छन् ।
स्थापना कालदेखि नै आफ्नै फार्मेसी सञ्चालन गरेको केन्द्रको मुख्य आम्दानी फार्मेसी नै हो, निर्देशक डा। शर्माले भने, यस रकमले हामीलाई वार्षिक रूपमा कर्मचारीलाई तलब, भत्ता, बिजुली, पानी लगायतमा खर्चेका छौँ । कर्मचारीको तलब, भत्तामा मात्र २५ देखि २७ करोडसम्म खर्च हुने जानकारी दिँदै डा। शर्माले फार्मेसीको आम्दानीले गर्दा अस्पताललाई ठूलो राहत मिलेको बताए। गोरखापत्र दैनिकबाट ।