
फोटो साभार : रेडियो मेलम्चीबाट
काठमाडौं, १७ मंसिर । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा सुनजस्तै पहेलो धातु फेला परेको छ । विहीबार सुरुङ खन्ने क्रममा त्यस्तो धातु फेला परेको हो । मेलम्ची खानेपानी आयोजना प्रमुख धनश्याम भट्टराईका अनुसार सुरुङ खन्दा सुन जस्तो धातुहरु भेटिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आयोजना प्रमुख भट्टराईका सुरुङ खन्नेक्रममा सुन जस्तै पहेलो धातुहरु धेरै फेला परेको जानकारी दिदै भने, ‘मैले सो कुरा थाहा पाउने वित्तिकै त्यहाँ सुरक्षा व्यवस्था कडा गर्नको लागि निर्देशन दिएको छु ।’ सुरुङ वरपर पनि आधिकारीक व्यक्तिबाहेक कसैलाई छिर्न दिइएको छैन उनले भने –‘सर्वेलेन्स क्यामरा राख्न पनि मैले निर्देशन दिइसकेको छु ।’
भट्टराईका अनुसार त्यस्तो पहेलो धातु पाइपराइट पनि हुन सक्छ, पइपराइट नामक धातु पनि सुन जस्तै गरी टल्किन्छ, । ‘सुन जसरी टल्किने धातु के हो भन्ने विषयमा मैले खानी तथा भूगर्व विभागमा टेष्टको लागि पठाइसकेको छु,’ उनले भने ।
‘पोलेर हेर्दा सुन हो भने पग्लिन्छ, ढुंगा हो भने फुट्छ, सफर नामको धातु हो भने वल्छ, तामा हो भने पनि सुन पग्लने तापक्रममा पग्लिदैन त्यसैले मैले पहिलो टेष्ट पोलेर गर्न त्यहाँका कामदारलाई भनेकाे छु,’ प्रमुख भट्टराइले भने ।
भू–गर्वविद्का अनुसार सबै पहेलो धातु सुन हुदैन टेष्ट गरेर नहेरी सुन हो या अन्य धातु सो बारेमा केही भन्न सकिदैन । प्राविधिक परिक्षणका लागि खानी तथा भूगर्व विभागमा पठाईसकेकोले परिक्षणपछि मात्र सुन या अन्य के हो स्पष्ट हुने छ । आगामी दशैसम्म राजधानीबासीको तिर्खा मेट्ने गरी आयोजनाको सुरुङ निर्माण कार्य तिव्र भइरहेको वेला सुन भेटिएको आशंकाले अब निक्कै दिन आयोजनाको काम प्रभावित हुने सम्भावना देखिएकाे छ ।