काठमाडौं । विगतकेही वर्षदेखि प्रभावित बनेको अटो बजारले पछिल्लो समय लयमा फर्किएको छ । यसअघि गाडी व्यापार सुस्त बनेका व्यवसायीहरु चाडपर्व लागेसँगै भएको गाडी खरिदबिक्रीले हौसिएका हुन् । अहिले गाडीको विभिन्न सोरुमहरुमा नयाँ सवारी साधन खरिद गर्नेहरुको संख्या बढ्दा व्यवसायीहरु खुसी भएका हुन् ।
नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापा पनि पछिल्लो समय गाडी व्यापार वृद्धि भएको बताउँछन् । उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष गाडीको व्यापारमा सुधार भएको बताए ।
‘यस वर्ष गाडी व्यापार सुधार भएको छ, अघिल्लो वर्ष व्यवसायीलाई धेरै समस्या थियो, नाडा अटो शोले पनि केही राहत मिल्यो, अहिले विद्युतीय गाडी खरिद गर्ने ग्राहकहरुको संख्या बढ्दै गएको छ, त्यसले व्यापारमा थप मद्दत पुगेको छ,’ उनले भने ।
उनका अनुसार अहिले गाडी बुकिङ पनि बढ्दै गएको छ । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले पनि सहजै फाइनान्सिङ गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाले सहजै ऋण उपलब्ध गराउँदा व्यवसायीलाई ठूलो राहत मिलेको उनको भनाइ छ ।
‘अहिले बैंकमा तरलता सुधार हुँदै गएको छ, यसअघि बैंकहरु लगानी गर्न पनि मान्दैनथे, तर अहिले बैंकहरुले ऋण लिन आग्रह गरिरहेका छन्,’ उनले भने । अब विस्तारै गाडी व्यापारले पुरानै लय लिने उनको विश्वास छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले पनि साउनमा १ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ कर्जा गाडी व्यापारका लागि लगानी गरेका छन् ।
अटो व्यवसायी अनुप कुमार बराल पनि गाडी व्यापारमा उल्लेख्य वृद्धि भएको बताउँछन् । ‘हामीले इन्धनबाट चल्ने गाडी बिक्री गर्छौं, पहिले इन्धनबाट चल्ने गाडी खरिद गर्नेको संख्या कम हुन्थ्यो, महिनामा २/३ वटा मात्रै बिक्री हुन्थ्यो, अहिले औसतमा ६/७ वटासम्म बिक्री हुन्छ, यसले सुधारको संकेत देखाएको छ,’ नारायणी अटो बिजनेसका सञ्चालक समेत रहेका उनले भने ।
उनका अनुसार कम्पनीहरुले पनि गाडीका नयाँ–नयाँ भेरियन्ट तथा मोडल भित्र्याएकाले पनि ग्राहकहरु बढेका छन् । आइशरका नयाँ मोडलका गाडीहरू धेरैको रोजाइमा परेको बरालको भनाइ छ ।
यस्तै, टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ ईभीका गाडीको व्यापार बढ्दै गएको बताउँछन् । ‘नेपालमा ईभी गाडीको माग बढेको छ, ईभीप्रति मान्छेहरू सकारात्मक पनि छन्, त्यसले समग्र अटाे बजार चलायमान गरेको छ,’ उनले भने ।
यस्तै, यातायात व्यवस्था कार्यालय एकान्तकुनाले पनि पछिल्लो समय चारपाँग्रे गाडीको दर्ता बढेको बताएको छ । कार्यालयका अनुसार साउनमा पेट्रोलियम पदार्थबाट चल्ने कार ३९९ र इलेक्ट्रिक कार २२६ वटा दर्ता भएका छन् ।
यस्तै, भदौ पेट्रोलियम पदार्थबाट चल्ने कार ६०६ र ५ सय ४६ वटा विद्युतीय कार दर्ता भएका छन् । कार्यालयका प्रमुख हरिहर पोखरेल पनि कारको दर्ता संख्या बढेको बताउँछन् ।
‘विगतका वर्षहरुको तुलनामा अहिलेकाे दर्ता केही कम हो, तर यो वर्ष भने मासिक रुपमा बढेको देखिन्छ, विद्युतीय गाडी धेरैको रोजाइमा परेको छ,’ उनले भने ।
चालू आर्थिक वर्षको २ महिनाको अवधिमा झन्डै ८९८ सय विद्युतीय गाडी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार ७ सय ८८ वटा गाडी भदौमा मात्रै नेपाल भित्रिएको छ । दुई महिनामा २ अर्ब ४३ करोड १५ रुपैयाँ मूल्य बराबरका उक्त गाडीको आयात हुँदा सरकारले १ अर्ब १२ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।