पाँच दशकदेखि एउटा तुइनको भरमा चार गाविस, तुइन हटाउने सरकारको घोषणा भाषणमै सिमित

<p>जाजरकोट २८, मंसिर । जाजरकोटको पश्चिमी क्षेत्रका चार गाविसका बासिन्दाको सम्बन्ध खोलामा हालिएको तुइनले जोडेको छ। गर्खाकोट र पजारु गाविसबाट बग्ने कुशेखोलामा पुल नहुँदा ती गाविसको सम्बन्ध नै तुइनको भरमा जोडिएको हो। पजारु, गर्खाकोट, कोर्ताङ र टालेगाउँका बासिन्दाले पाँच दशकदेखि कुशेखोलामा हालिएको तुइनबाटै आवतजावत गर्दै आएका छन्। खोलामा पुल नबन्दा स्थानीयवासी ज्यान जोखिममै राखेर तुइनबाटै [&hellip;]</p>

जाजरकोट २८, मंसिर । जाजरकोटको पश्चिमी क्षेत्रका चार गाविसका बासिन्दाको सम्बन्ध खोलामा हालिएको तुइनले जोडेको छ। गर्खाकोट र पजारु गाविसबाट बग्ने कुशेखोलामा पुल नहुँदा ती गाविसको सम्बन्ध नै तुइनको भरमा जोडिएको हो।

पजारु, गर्खाकोट, कोर्ताङ र टालेगाउँका बासिन्दाले पाँच दशकदेखि कुशेखोलामा हालिएको तुइनबाटै आवतजावत गर्दै आएका छन्। खोलामा पुल नबन्दा स्थानीयवासी ज्यान जोखिममै राखेर तुइनबाटै खोला वारपार गर्ने गरेको पाजरु–७ रुव निवासी धनबहादुर गिरीले बताए। tuin_bistapan

राजनीतिक दलका नेता र कर्मचारीलाई पुल बनाउन बारम्बार आग्रह गरे पनि सुनुवाइ नभएको गिरीले गुनासो गरे। ती चार गाविस मात्र नभएर यस बाटो भएर पश्चिमी क्षेत्रमा आवतजावत गर्ने सबैले तुइनको सहारा लिनुपर्ने बाध्यता छ। खोला तर्ने क्रममा तुइनबाट खसेर अहिलेसम्म तीनजनाको ज्यान गएको स्थानीय जयलाल सार्कीले बताए।

‘तीनजनाको ज्यान गइसक्यो, पुल नबन्दा अझै के हुने हो,’ उनले प्रश्न गरे। विशेष गरी पजारुको रुव र गर्खाकोटको खोलीका स्थानीयले भने मेलापात, जन्ती, मलामी र घाटघट्टसमेत आउन जान तुइन तर्नुपर्छ। ती गाउँमा लाग्ने मेला र जात्राका बेला स्थानीयलाई निकै आपत् पर्ने गरेको छ।

धेरै मान्छेले खोला तर्ने बेलामा हैरानी बेहोर्नुपर्ने स्थानीयवासीको भनाइ छ। त्यस्तै, खोलाका दुई किनारामा पर्ने गर्खाकोटका खोली र पजारुको रुव निवासीले हरेक दिन तुइनबाटै आवतजावत गर्ने गरेको खोली निवासी प्रसाद शाहीले जानकारी दिए। ‘वारिपारि गाउँ छन्। मध्यभागमा खोला। सबै काम गर्दा तुइनकै भरोसा छ। पाँच दशकदेखि यही तुइनले नै जीवन धानेको छ,’ शाहीले भने। गर्खाकोटको शिवपुरी उच्च माध्यमिक विद्यालयमा पजारुबाट पढ्न जाने विद्यार्थीसमेत तुइनबाट नै कुशेखोला तर्ने गरेका छन्। विद्यालय जाँदा डराएर जानुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। ‘अरूबेला सजिलो भए पनि वर्षाद्मा भने निकै कठिन हुने डर लाग्ने गरेको कक्षा ११ का छात्र ज्ञानबहादुर खत्रीले बताए।

‘ठूलो बाढी र भेल आएका बेला तुइन नै पानीले छोएको हुन्छ। त्यस्तो बेला स्कुल नै नगएर फर्कनुपर्छ,’ खत्रीले राजधानीसँग भने। यस्तो अवस्थाले विद्यार्थीलाई निकै चिन्तित बनाउने गरेको उनको भनाइ छ।

सरकारले अघिल्लो आर्थिक वर्षमै देशभरिबाट तुइन विस्थापित गर्ने भने पनि जाजरकोटको दुर्गम गाउँका बासिन्दाको तुइन तर्नुपर्ने बाध्यता अझै हटेको छैन। जिल्लाको अति दुर्गम मानिने यो गाउँमा दलका नेताहरू चुनावका बेला पुगे पनि सरकारी कर्मचारी भने पुग्दै नपुग्ने स्थानीयवासीको भनाइ छ।

‘नेताले चुनावमा पुल हालिदिने सबैले भन्छन्, तर चुनावपछि कसैले फर्केर हेरेका छैनन्,’ स्थानीय ददे कामी भन्छन्, ‘तुइनको पीडा हटाउन पुल बनाउने नाममा कतिले हाम्रा भोट बटुले, तर कसैले वाचा पूरा गरेनन्।’ राजधानी दैनिकबाट ।

Share News