काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै संघीय राजधानीको मुहार फेरिने दाबी गरेकी छिन् ।
शुक्रबार २९ औं महानगर दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले काठमाडौं महानगरपालिकाले वृहत्तर विकास गर्ने उदेश्यले चालु आर्थिक वर्षमा हामीले नीति कार्यक्रम र बजेट सोही अनुसार बनाएको बताइन् ।
नियमित रुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभइ नयाँ कामको पनि थालनी गरिरहेको जानकारी दिइन् । हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढंगले पहुँच पु¥याउन निःशुल्क कानूनी सेवा उपलब्ध गराएको पनि बताइन् । महानगरका कामबाट महान्गरवासी खुशी भएको अनुभुति गरेको बताइन् ।
‘काठमाडौं महानगरपालिकाले वृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा हामीले नीति कार्यक्रम र बजेट सोही अनुसार बनाएका छौँ, नियमित रुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभएर त्यस अलावा १० गौरवका योजनाहरु र २५ स्वर्णिम योजनाहरु अघि सारेका छौँ, महानगरपालिकामा न्यायिक सुशासन कायम गर्नका लागि न्यायिक क्षेत्रमा विभन्न आमुल परिवर्तन आउने नयाँ पाइला चालेका छौँ’, उनले भनिन्, ‘हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढंगले पहुँच हुनुपर्छ भनेर हामीले निःशुल्क कानूनी सेवा उपलब्ध गराएका छौँ, मेलमिलापको सेवा पनि निःशुल्क प्रदान गरेका छौँ, महानगरपालिकामा अहिले न्यायमा पहुँच वृद्धि भएको छ, महानगरवासी भने खुशी भएको अनुभुति गरेका छौँ ।’
उपप्रमुख डंगोलले महानगरपालिकाले विभिन्न नयाँसँगै सिर्जनात्मक क्रियाकलाप अघि बढाइरहेको बताइन् ।