काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
२९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भुमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे ।
अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए । मेयर साहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।
‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन्, काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन्, तिमध्ये तीन वटा विशेष कामहरु जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस्, साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ’, उनले भने ।
मेयर साहले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघ सरकारसँग् आग्रह गरे ।