कोदो र फापर खेती गर्ने किसानलाई अनुदान

<p>मनहरी । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा [&hellip;]</p>

मनहरी । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् ।

गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गरे ।

भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो खेती गरेको र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा कोदो उत्पादन बढाउन पालिकाले २० लाख अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताए ।

यो वर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने उनले बताए । अनुदान पाएका किसान बाहेक पालिकाका अन्यले पनि कोदो खेती गर्दै आएका तथा भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गाँउपालिकाले पालिका भित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्युनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ ।

गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आथिएक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ र फापर प्रति केजी एक सय निर्धारण गरिएको छ ।

Share News