काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताएका छन् ।
सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए ।
उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानून बाझिएका कारण असहज भएको बताए । संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानूनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे । काठमाडौंको खोला अतिक्रमणमा सरकारले आवश्यक पहल गर्न आग्रह गरे ।
‘काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका दुई वटा एक आपसमा परस्पर सम्बन्ध भएका महानगरपाकिला हुन्, त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकै पटक हुनुपर्छ, काठमाडौंमा खोला अतिक्रमण छ, ललितपुरमा छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ तर खोला अतिक्रमण सम्माननीय ज्युले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समयजतिमा समाधान हुन्छ, मेयरहरुले मात्रै सक्दैन, ललितपुरसँगै काठमाडौं पनि बराबर उज्यालो होस् त्यसैअनुसार बुझ्नुपर्छ’, उनले भने ।
प्रमुख साहले काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए ।